यस्तो छ ‘श्री बुकुरो : द होम कलिङ’को टिजर
काठमाडौं । चलचित्र ‘श्री बुकुरो : द होम कलिङ’को टिजर सार्वजनिक भएको छ । बुकुरोको अर्थ झुप्रो घर भन्ने हुन्छ ।
सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको सिनेमा पारिवारिक कथा र ग्रामीण जीवनशैलीमा आधारित कथामा बनेको बुझ्न सकिन्छ । जसले एउटा परिवारलाई केन्द्रमा राखेर कथा भनेको संकेत गर्दछ ।
कविता वाचन गरेको अंशबाट सुरु भएको सिनेमाको टिजरमा लक्ष्मी गिरी र आर्शिवाद क्षेत्री गाउँ फर्किरहेको दृश्य देखाइएको छ ।
यो सिनेमाबाट निर्देशक सिंह ७ वर्षपछि निर्देशनमा फर्किएका हुन् । यसअघि उनले चर्चित चलचित्रहरू ‘माला’ र ‘रुद्रप्रिया’ निर्देशन गरेका थिए ।
फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको चलचित्रमा आशीर्वाद र लक्ष्मीसँगै निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की, र रजिना विश्वकर्माको अभिनय रहेको छ।
निर्देशक सिंहकै लेखन रहेको सिनेमा निर्माणमा रुबी सेन सिंह संलग्न रहेकी छिन् ।
मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा खिचिएको चलचित्रको छायांकन सञ्जय लामा र राजेश श्रेष्ठले गरेका छन् ।
सिनेमाका गीतहरूमा रञ्जीत गजमेर र बसन्त सापकोटाको संगीत समावेश गरिएको छ । निर्देशक सिंहका अनुसार, चलचित्रको प्रदर्शन मिति चाँडै घोषणा गरिने तयारी भइरहेको छ ।
‘श्री बुकुरो : द होम कलिङ’ पारिवारिक कथा र ग्रामीण जीवनशैलीमा आधारित सिनेमा भएकाले दर्शकहरूलाई आकर्षित गर्ने विश्वास गरिएको छ ।