‘सानुमाया’मा मिरुनाको प्रेम र करियरबीच संघर्ष
काठमाडौं । ‘सानुमाया’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । भिजुअल आर्ट्स स्टुडियो र टौवा स्टुडियोको सहकार्यमा निर्माण भएको यो भिडियोले भुटानी नेपाली समुदायको सांस्कृतिक पृष्ठभूमिमा आधारित प्रेमकथा मार्फत पहिचान, संघर्ष र प्रेमका गहिरा भावनाहरूलाई प्रस्तुत गरेको छ ।
राम अविरल विष्ट गीतकार रहेको सार्वजनिक गीतमा एसडी योगी र विज्ञानी पराजुलीको आवाज रहेको छ । एसडी योगी संगीतकार रहेको गीतमा सागर खड्काको मिक्सिङ र मास्टारिङ, बिक्रम थापाको संगीत संयोजन छ ।
‘सानुमाया’ म्युजिक भिडियोले पहिचानको अभाव, प्रेम र करियरबीचको द्वन्द्व र सामाजिक संघर्षलाई भावनात्मक रूपमा उजागर गर्नुका साथै भुटानी नेपाली समुदायको सांस्कृतिक महत्त्व र समाजभित्रको गहिराइलाई कलात्मक रूपले प्रस्तुत गर्ने प्रयास गरेको छ ।
लेखक तथा निर्देशक विवेक रसाइलीद्वारा निर्देशित भिडियोमा मिरुना मगर, दीपक रसाइली र प्रेम सुब्बालाई फिर्चड गरिएको छ ।
मिरुना मगरले भुटानी नेपाली समुदायकी एक महिलाको भूमिका निर्वाह गरेकी छिन् । उनको पात्रले आफ्नो करियर र आफ्नो प्रेमबीच छनोट गर्नुपर्ने अवस्थामा छ । जसले समाजमा पहिचान नभएको अवस्थाबाट उत्पन्न हुने द्विविधा र कठिनाइलाई चित्रण गर्छ ।
गीतमा समेटिएका कथा र सांगीतिक संयोजनले पहिचानको अभावले ल्याउने सामाजिक दबाब र व्यक्तिगत द्वन्द्वलाई जीवन्त रूपमा पर्दामा उतारेको छ।
‘सानुमाया’ ले भुटानी नेपाली समुदायको सांस्कृतिक परम्परा, प्रेम, र पहिचान गुमाउनुपर्ने परिस्थितिलाई भावुक तर प्रभावकारी रूपमा प्रस्तुत गरेको छ, जसले दर्शकलाई पात्रहरूको भावनामा डुबाउन मद्दत गर्छ ।
विजय बस्याल कार्यकारी निर्माता रहेको भिडियोका रेजोन थापा मुख्य सहायक निर्देशक र उज्ज्वल जोशी छायाकार हुन् ।
‘सानुमाया’ म्युजिक भिडियो भिजुअल आर्ट्स स्टुडियोको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।