‘जन्ते बाख्रो’को शुभमुहूर्त सम्पन्न, पौष २० गतेबाट छायांकन सुरु हुने
काठमाडौं । सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने चलचित्र ‘जन्ते बाख्रो’को शुभमुहूर्त सम्पन्न भएको छ । शुक्रबार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा शुभमुहूर्त गर्दै पौष २० गतेबाट छायांकन सुरु हुने जानकारी दिइएको हो ।
सिनेमाका मुख्य कलाकार सौगात मल्ल र गरिमा शर्माले मुहूर्त शट दिएका थिए । सौगात र गरिमासँगै यस सिनेमामा आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम र कुशल गजमेरलगायतका कलाकारहरूको पनि अभिनय रहनेछ ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘जन्ते बाख्रो’ कमेडी कथावस्तुमा आधारित सिनेमा हो । सिनेमाको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका छन् भने सन्तोष गौतम यस सिनेमाको निर्माता हुन् ।
‘जन्ते बाख्रो’ को कथावस्तु जन्ती भोजसँग जोडिएको छ । परम्पराअनुसार बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने विशेष परिकारलाई जन्ते बाख्रो भनिन्छ । सिनेमाको कथा यसै परम्परा र यससँग सम्बन्धित घटनाक्रमलाई केन्द्रित गरेर निर्माण हुने बुझिएको छ।
सिनेमाको छायांकन हरि हुँमागाईले गर्नेछन् । ‘जन्ते बाख्रो’ले परम्परागत चलनलाई मनोरञ्जनात्मक र हास्यपद रूपमा प्रस्तुत गर्ने बुझिएको छ ।