छोरी पञ्चमीलाई आफ्नै चलचित्रबाट डेब्यु गराउँदै तुलसी घिमिरे, अरुणसँग जोडी बाँध्दै

काठमाडौं । निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’बाट नेपाली चलचित्र उद्योगमा नयाँ नायिका भित्र्याउने भएका छन् । पञ्चिमी घिमिरेलाई उनले ‘पहाड’मार्फत डेब्यु गराउँदा नेपाली चलचित्र उद्योगले नयाँ नायिका पाउने भएको छ ।
पञ्चमी घिमिरे तुलसी घिमिरेकी कान्छी छोरी हुन् । उनी पनि नेपाली रजतपटमा डेब्यु गर्न लागेकी हुन् । उनले आफ्नै बुवाको चलचित्रबाट नेपाली रंगमञ्चमा प्रवेश गर्न लागेकी हुन् ।
चलचित्रमा उनले जोडी बाँध्नेछिन्, अरुण क्षेत्रीसँग । चलचित्र ‘महापुरुष’बाट नेपाली रजतपटमा प्रवेश गरेका अरुण त्यसयता नेपाली रजतपटमा देखिरहेका कलाकार हुन् ।
तुलसी घिमिरे भने चलचित्र ‘दर्पण छाया–२’ पछि निर्देशनमा फर्किन लागेका हुन् । म्युजिकल स्टोरी ‘दर्पण छाया–२’ व्यवसायिक रुपमा सफल हुन नसकेपछि केही समय तुलसी घिमिरेले ब्रेक लिए । त्यसपछि उनी पुनः सक्रिय हुने प्रयासमा देखिएका छन् ।
लामो समयको अन्तरालपछि आउँदा छोरीलाई डेब्यु गराउन लागेका हुन् ।
‘पहाड’मा विपीन कार्की र वर्षा राउत यसअघि नै फाइनल भइसकेका छन् । त्यसपछि अरुण र पञ्चमीलाई निश्चित भएका हुन् ।
दर्जनौं हिट सिनेमा दिएका निर्देशक तुलसी घिमिरेले बनाउँन लागेको नयाँ चलचित्र ‘पहाड’मा अभिनेता विपीन कार्कीले स्वरका गीत रेकर्ड भइसकेको छ । उनले र्याप गीत गाएका हुन् ।
र्यापमा संगीतकार रञ्जित गजमेरको संगीत छ । शब्द निर्देशक घिमिरे स्वयंको छ । चलचित्रमा चारवटा गीत रहनेछन् ।
यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, सुनील थापालगायत कलाकारको पनि अभिनय रहनेछ ।
‘पहाड’को ५० प्रतिशत नेपालका विभिन्न पहाडी भेगमा छायांकन हुनेछ भने बाँकी छायांकन मुम्बईमा हुनेछ ।