‘चिल म्युजिक फेस्ट’मा तीन लोकप्रिय व्याण्ड गुञ्जिने

काठमाडौं । अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर यही डिसेम्बर ३१ गते काठमाडौंको गैरीधारास्थित सिल्भर ओएक्समा ‘चिल म्युजिक फेस्ट’ आयोजना हुने भएको छ ।

पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क (पीभीई नेटवर्क)को प्रस्तुतीमा हुने यस कार्यक्रममा तीन लोकप्रिय व्याण्ड- एक्सिस, झिल्के एण्ड द कम्पनी, र कुमा सागर एण्ड द ख्वप आफ्नो सांगीतिक प्रस्तुति दिनेछन् ।

पीभीई नेटवर्कका अनुसार कार्यक्रम साँझ ७ बजेदेखि सुरु हुनेछ । नयाँ वर्षको उत्सवलाई विशेष बनाउने उद्देश्यले सांगीतिक विविधता, स्वादिष्ट परिकार, र जलपानको व्यवस्था गरिएको छ । कार्यक्रम काठमाडौं संयोजक रोहित श्रेष्ठका अनुसार खल्ती एपमार्फत टिकट बुकिङको व्यवस्था गरिएको छ ।

‘यो दिन काठमाडौंमा अन्य ठूलो कार्यक्रम नभएकाले नयाँ वर्षको इभलाई विशेष महत्व दिएर हामी यस कार्यक्रमको तयारी गरिरहेका छौं,’ श्रेष्ठले भने । उनले आकर्षक स्टेज सजावट र नयाँ वर्षलाई स्वागत गर्न विशेष तयारी भइरहेको बताए ।

यसअघि ‘चिल म्युजिक फेस्ट’ अन्तर्गत यी व्याण्डहरुले झापा र बुटवलको तिलोतमामा आफ्नो प्रस्तुति दिइसकेका छन् । झापा कन्सर्ट संयोजक सोनु पुडासैनी र बुटवल संयोजक अशोक थापाका अनुसार दुवै स्थानमा उल्लेखनीय दर्शक उपस्थित भएका थिए ।

‘हामीले झापा र बुटवलमा क्रिसमस इभको अवसर पारेर कार्यक्रम सम्पन्न गरेका थियौं, जसमा उल्लेख्य मात्रामा संगीत पारखीहरुको सहभागिता रह्यो,’ थापाले भने ।

काठमाडौंमा पहिलोपटक आयोजना हुन लागेको यो कार्यक्रमले नयाँ वर्षको पूर्वसन्ध्यालाई थप रमाइलो र उत्साहजनक बनाउने आयोजकको विश्वास छ ।