चर्चामा ऊनको स्वीटरको ‘मखमली’ गीत

काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’को गीत ‘मखमली’ यतिबेला चर्चामा छ । यो गीतप्रति विश्वव्यापी रुपमा दर्शकहरू देखाएको चासोले चलचित्रप्रति अझै कौतुहलता रहेको बुझाउँछ ।

रिलिज भएको केही दिनमै यो गीतले नेपालसहित विभिन्न देशहरूमा युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा आफ्नो स्थान पक्का गरेको छ । गत बिहीबार साँझ सार्वजनिक गरिएको यो गीत युट्युबमा तीन दिनमै १० लाखभन्दा बढी पटक हेरिएको छ । सामाजिक सञ्जालमा टिकटक र फेसबुक रिल्समा समेत यो गीतको लोकप्रियता उच्च रहेको छ ।

वैशाख २६ गते रिलिज हुने तयारीमा रहेको चलचित्रको ‘मखमली’ गीतले प्रवासमा रहेका नेपालीहरूको समेत मन जितेको छ । नेपालमा ट्रेन्डिङको पहिलो स्थानमा पुगेको गीत माल्टामा पहिलो, कतारमा दोस्रो, अस्ट्रेलिया र युएईमा पाँचौँ तथा कुवेतमा उन्नाइसौँ स्थानमा रहेको छ ।

‘मखमली’ गीतले नेपाली लोक भाका ‘कौडा/चुट्का’लाई नयाँ स्वरूपमा प्रस्तुत गर्दै अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरबीचको प्रेमलाई कलात्मक रूपमा देखाएको छ । पाँचथर र नेपाल-भारत सीमावर्ती फालेलुङको सांस्कृतिक परिवेशमा आधारित यो गीतले दर्शकको मन छुन सफल भएको छ।

गीतमा सुजन चापागाईँ र सुनिता थेगिमको स्वर रहेको छ। हर्क साउदको शब्द, सुजन चापागाईँको सङ्गीत र कोविद बज्रको संगीत संयोजन रहेको यो गीतलाई दीप गुरुङले कोरियोग्राफी गरेका छन्।

‘ऊनको स्वीटर’ आर्टमाण्डू प्रा.लि.को निर्माणमा बनेको पहिलो फिचर चलचित्र हो । निर्देशक नवीन चौहानले निर्देशन गरेको यो चलचित्रमा सुरज कटुवालको सह लेखन रहेको छ ।

चलचित्र ‘ऊनको स्वीटर’मा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बालगायत कलाकारको अभिनय रहेको छ ।