हलमा एसी नभएको कि दर्शकमा चासो नभएको ?

कमठमाडौं । नेपाली चलचित्र उद्योगले यस वर्ष वैशाखदेखि कात्तिकसम्मको समय सानदार रूपमा मनायो । करिब एक दर्जन सिनेमा व्यावसायिक रूपमा सफल भए भने व्यापार १ अर्बभन्दा माथि पुग्यो । नेपाली फिल्म उद्योगको इतिहासमा यो संख्याले नयाँ कीर्तिमान बनायो ।

तर, कात्तिकपछि नेपाली चलचित्रहरूको व्यापारमा ठण्डा महसुस भयो । मंसिर ७ पछि हलमा न त नयाँ सिनेमा आए, न त दर्शकको उत्साह देखियो । मंसिरको पहिलो सातामा दुई चलचित्र ‘तेल भिसा’ र ‘अग्निदहन’, प्रदर्शनमा आए । यीमध्ये ‘अग्निदहन’ले न दर्शक तान्न सक्यो, न लगानी सुरक्षित गर्न । तर, ‘तेल भिसा’ले केही हदसम्म राम्रो प्रदर्शन गर्‍यो, तर अपेक्षाकृत व्यापार गर्न असफल रह्यो ।

यता, मंसिर २० गते साउथ इन्डियन सिनेमा ‘पुष्पा-२ : द रुल’ नेपालमा रिलिज भएपछि नेपाली चलचित्र उद्योग थप प्रभावित भयो । ‘पुष्पा २’ले नेपाली हलहरूमा दर्शकको भीड तान्यो । यसको प्रभावले गर्दा नेपाली निर्माताहरूले आफ्ना सिनेमा प्रदर्शनको मिति सार्नुपर्‍यो । मंसिर महिनाभरि नेपाली चलचित्रहरूको अभाव महसुस गरियो ।

चिसो मौसम, चिसिएको व्यापार

नेपाली चलचित्र रिलिज भएको एक महिनापछि पुस ५ गते ‘बमबहादुर’ प्रदर्शनमा आयो । यसबाट चलचित्र उद्योगले चिसिएको व्यापारलाई तताउने अपेक्षा गर्‍यो । तर, ‘बमबहादुर’ बक्स अफिसमा कमजोर सावित भयो । दर्शक अभावका कारण धेरै हलले दुई दिनमै यो सिनेमा हटाउनुपर्‍यो ।

यस्तै, पुस १० गते क्रिसमसको अवसर पारेर प्रदर्शनमा आएको अर्को नेपाली चलचित्र ‘देववाणी’ पनि दर्शक तान्न असफल रह्यो । प्रदर्शनको पहिलो दिनदेखि नै दर्शक कम भएपछि धेरै हलले यो सिनेमालाई पनि दुई दिनमै प्रदर्शनबाट हटाए ।

विशेषगरी नेपाली निर्माताहरू तिहारपछि सुरु हुने चिसो मौसममा सिनेमा हेर्न हलमा जाने दर्शकको संख्या घट्ने आशंका गर्दै आएका छन् । तर, साउथ इन्डियन सिनेमा ‘पुष्पा २’ नेपालमा सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने विदेशी चलचित्र बन्यो । यो सिनेमाले धेरै कमाय गर्नुमा न चिसो मौसमले दर्शकलाई असर गर्यो । ‘पुष्पा २’ले दर्शकलाई दिनप्रति दिन हलसम्म तान्न सफल रह्यो ।

हाल नेपाली हलहरूमा आधा दर्जन सिनेमा प्रदर्शनरत छन् । तीमध्ये, नेपाली चलचित्रहरू ‘तेल भिसा’ र ‘पूर्णबहादुरको सारङ्गी’ हुन् । यस्तै, साउथको ‘पुष्पा २’, बलिउडको ‘बेबी जोन’, र हलिउडका ‘मोआना २’ तथा ‘मुफासा: द लायन किङ’ प्रदर्शनमा छन् ।

‘तेल भिसा’ र ‘पूर्णबहादुरको सारङ्गी’ जस्ता नेपाली चलचित्रले आफ्नो अस्तित्व बचाउन संघर्ष गरिरहेका छन् । विदेशी सिनेमाहरूको प्रभावले गर्दा नेपाली सिनेमाहरूलाई दर्शक तान्न कठिन भइरहेको छ ।

नेपाली चलचित्रको व्यापारको यस्तो गिरावटका पछाडि केही प्रमुख कारण देखिन्छन् । विदेशी साउथ, बलिउड र हलिउड सिनेमाहरूको प्रभाव नेपाली दर्शकमा प्रबल देखिएको छ ।

नेपाली सिनेमाहरूको गुणस्तर, कथावस्तु र प्रस्तुतिमा सुधारको आवश्यकता महसुस गरिएको भए पनि रणनीतिमा कमजोरी, प्रचारप्रसार र दर्शकलाई हलसम्म तान्ने अभियानमा कमी छ ।

सिजनको प्रभाव मात्र नभई कमजोर फिल्मको प्रदर्शनले व्यापारमा नराम्रो असर परेको एक हल सञ्चालकले बताएका छन् । ‘अहिलेका फिल्महरू न त दर्शक तान्न सक्षम छन्, न त व्यापार राम्रो गर्न। यस्तो अवस्थामा हाम्रो व्यवसायलाई धान्न मुस्किल हुँदै गएको छ,’ काठमाडौंस्थित हलका एक प्रबन्धक बताउँछन् ।

नेपाली चलचित्र निर्माताहरूले अब नेपाली दर्शकको मनोविज्ञान बुझ्नुपर्ने आवश्यकता छ । पछिल्लो समय भारतीय र हलिउड सिनेमाहरूको प्रभावले गर्दा नेपाली दर्शकहरूको स्तरिय सामग्रीको माग बढेको छ । तर, अधिकांश नेपाली चलचित्रहरूले आधुनिक प्रविधि र कथा संरचनाको कमी महसुस गरिरहेका छन् । गुणस्तरीय सिनेमा निर्माण, आकर्षक प्रचार रणनीति, र नेपाली पहिचान झल्काउने कथाहरू नै उद्योगलाई पुनः उचाइमा पुर्‍याउन मद्दत गर्न सक्छ ।

नेपाली चलचित्र उद्योगले एकपटक फेरि दर्शकको विश्वास जित्नका लागि सामूहिक प्रयास गर्नुपर्ने देखिन्छ ।