‘कुस्ती’को पोस्टर सार्वजनिक, निर्माता बुद्धि तामाङ

काठमाडौं । कलाकार बुद्धी तामाङको निर्माण रहने चलचित्र ‘कुस्ती’ घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने चलचित्रको सार्वजनिक पोस्टरमा धिरज मगर र मिरुना मगर फिचर्ड छन् ।
चलचित्रमा धिरज र मिरुनासँगै बुद्धी तामाङको पनि अभिनय रहनेछ । उनीहरुको यो पहिलो सहकार्य हो । ‘कुस्ती’मा सम्बन्धमा रहेको एक जोडीको प्रेम कथा देखाइने निर्देशक योञ्जनले बताएका छन् ।
उनले भने, “उनीहरु एक अर्कालाई धेरै माया गर्छन् तर आ–आफ्नो स्वभावले गर्दा एकसाथ रहन कठिनाइको सामना गरिरहेका छन् । दर्शकले यो जोडीबाट गर्ने अपेक्षालाई पूर्ण गर्ने हाम्रो प्रयाश रहनेछ ।”
कलाकार बुद्धी तामाङले पहिलो पटक सिनेमा निर्माण गर्न लागेका हुन् । उनले कथावस्तु र टिमका कारण आफू निर्माणमा आएको बताए । “म यसै क्षेत्रमा छु । यसपटक कथावस्तु मन पर्नुका साथै टिम अनुभवी रहेकाले निर्माताको रुपमा अगाडि आएको छु,” उनले भने ।
चलचित्र आउँदो वर्ष २०८२ को भदौमा प्रदर्शन हुनेछ ।
