अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुँदै

काठमाडौं । अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने भएको छ । अमेरिकाको सन फ्रान्सिस्कोमा आगामी मंसिर १ मा गोल्डेन नेपाली फिल्म अवार्ड आयोजना हुन लागेको हो ।

अवार्ड गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नीया, हिमालयन फाउन्डेसन कर्प र गोल्डेन स्टेट मुभी मेकर्स प्रालिले आयोजना गर्न लागेका हुन् ।

विसं. २०८० साउन १ देखि २०८१ असार मसान्तसम्म प्रदर्शनमा आएका फिल्मले प्रतिस्पर्धा गर्न पाउने प्रावधान राखिएको छ । अवार्डमा सहभागी हुन नेपालबाट करिब दुई दर्जन चर्चित कलाकार अमेरिका जाने छन् ।

आयोजक संस्थाले अमेरिकामै रहेका नेपाली तथा स्थानीय कलाकार तथा विभिन्न पेसाका व्यक्तिलाई कार्यक्रममा सहभागी गराउनेछ ।

अवार्ड आयोजक टिममा अभिनेता शिव श्रेष्ठ, खलअभिनेता सुनील थापा, अभिनेत्री, निर्देशक दीपाश्री निरौला, कलाकार सुनील कटवाल र पत्रकार, फिल्म निर्देशक लक्ष्मण सुवेदी छन् ।

पपुलर अवार्डका रुपमा आयोजना गर्न लागिएको अवार्डमा विभिन्न १० विधामा अवार्ड प्रदान गरिने बताइएको छ ।