तीन महिनामा कुन चलचित्रले कति कमाए ? केही हलमा आए/गएको पत्तो भएन

काठमाडौं । चैत यता धेरै सिनेमा रिलिज भएनन् । चैत, वैशाख र जेठ तीन महिनामा एक दर्जन पनि चलचित्र रिलिज भएनन् ।

चैत ९ मा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र ‘महाजात्रा’ रिलिज भयो । यो चलचित्रले बक्सअफिस उत्साहजनक व्यापार गर्यो । यो चलचित्रले नेपाल भित्र र बाहिर गरेर करिब २७ करोड रुपैयाँ कलेक्सन गर्यो । ५१ दिन मनाएको चलचित्रले अनपेक्षित व्यापार गरेको थियो ।

यो चलचित्रले ब्यापार राम्रो गरे पनि समीक्षा भने औसत मात्रै पायो ।

चैत्र २३ गते शोभित बस्नेत निर्देशित चलचित्र‘बद्री बहादुर’ प्रदर्शनमा आयो । यो चलचित्रले एउटा स्लोगन दिएको थियो ‘धेरै हाँस्न नसक्नेले यो फिल्म नहेर्नुहोला’ । यत्तिकै भरमा मख्ख भएका शोभितले हलसम्म दर्शकलाई तान्ने माहौल भने सिर्जना गर्न सकेनन् । यसै कारण दर्शकलाई यो चलचित्र आएको र गएको नै पत्तो भएन ।

चैत ३० मा रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘डिग्री माइला’ रिलिज भयो । प्रतिक्षित यो चलचित्रले अपेक्षित कलेक्सन गर्न सकेन । यद्यपि, यसको निर्माण पक्षले रिलिजको एक हप्तामा पत्रकार सम्मेलन गरेर चलचित्रले पाँच करोडभन्दा माथि कलेक्सन गरेको जानकारी दिएको थियो ।

‘कबड्डी’को टिमले बनाएकाले वर्षकै प्रतिक्षितमध्ये एक थियो यो चलचित्र । तर, यसले ‘कबड्डी’ले जस्तो धेरै कमाउन सकेन ।

समीक्षा पनि राम्रो पाउन सकेन । वर्ड अफ माउथ पनि राम्रो नहुनु र समीक्षा पनि राम्रो नहुँदा चलचित्रले हाइपअनुसारको कलेक्सन गर्न सकेन । तर ‘कबड्डी’को तुलनामा कम कलेक्सन मात्रै हो । लगानी भने यसले मजाले सुरक्षित गर्यो ।

चैत ३० मै फिडेल देवकोटाको निर्देशन रहेको ‘द रेड सुटकेस’ रिलिज भयो । लोभलाग्दो समीक्षा पाएको यो चलचित्रले दर्शकको भने माया पाउन सकेन ।

स्रोतका अनुसार करिब २५ लाखको सेरोफेरोमा कलेक्सन गरेको स्रोतको दाबी छ । यो चलचित्र क्यूएएफएक्सका कुनै पनि आउटलेटमा रिलिज भएको थिएन ।

वैशाख १४ गते ‘बोक्सीको घर’ रिलिज भयो । सुलक्षण भारतीको निर्देशन रहेको चलचित्रकी निर्मात्री केकी अधिकारी थिइन् । मनदेखि बनाएको चलचित्रले दर्शकको मनलाई पनि कनेक्ट गर्ने विश्वास रहेको भन्दै प्रचार गरेकी केकीले भनेजस्तै भयो ।

यो चलचित्रले अनपेक्षित कलेक्सन गर्यो । दश करोडको आंकडा पार गर्न सफल भयो । यो चलचित्र अहिले पनि काठमाडौंको रञ्ना हलमा एउटा शो चलिरहेको छ ।

वैशाख २१ मा आयो उपेन्द्र सुब्बाको निर्देशनमा ‘मनसरा’ । यसले पनि राम्रो हाइप बनाएको थियो । तर अवस्था ‘डिग्री माइला’को जस्तै भयो ।

‘डिग्री माइला’ले जस्तै हाइप र ब्रान्डको अनुपातमा कलेक्सन गर्न सकेन । लगानीसम्म उठायो कि भन्ने आंकलन छ । तर यसको कलेक्सन हालसम्म निर्माणपक्षले सार्वजनिक गरेको छैन । यसले पनि मिश्रीत समीक्षा पाएको थियो ।

वैशाख २८ मा ‘खजुरे ब्रो’ रिलिज भयो । सुरज सुनुवारको निर्देशनमा तयार भएको चलचित्रले शो पनि राम्रो पाएन समीक्षा पनि राम्रो पाएन । यसले कति कमायो बक्सअफिस रिपोर्ट पनि सार्वजनिक भएन ।

चलचित्रमा नीति शाह जोडिएपछि यसले निर्माण हुदाँ केही हदसम्म चर्चा पायो । प्रदर्शन हुदाँ यो फिल्म बन्न त बन्यो तर, बने जस्तै मात्र भयो। यो चलचित्र धेरैले कहिले रिलिज भयो, कहिले उत्रियो भन्ने पनि धेरैले थाहै पाएनन् ।

जेठ १० गते ‘फर्की फर्की’ र ‘पुजार सार्की’ रिलिज भए । सुयोग गुरुङको निर्देशन रहेको ‘फर्की फर्की’ र दिनेश राउतको चलचित्र ‘पुजार सार्की’ले औसत समीक्षा पाए ।

यी चलचित्र अहिले पनि हलमा छन् । निर्माण पक्षले कलेक्सन सार्वजनिक गरेको छैन । तर स्रोतका अनुसार दुवैले ५ करोडको हाराहारीमा कलेक्सन गरेका छन् ।

जेठ २५ गते ‘गाउँ आएको बाटो’ र ‘लण्डन टु पेरिस’ रिलिज भए । यी दुवै चलचित्रले राम्रो कलेक्सन गर्न सकेनन् । ‘लण्डन टु पेरिस’ एक हप्तामै उत्रिसकेको छ । ‘गाउँ आएको बाटो’ अहिले पनि प्रदर्शनरत छ ।

‘लण्डन टु पेरिस’ले राम्रो समीक्षा पाउन सकेन । ‘गाउँ आएको बाटो’ले औसत समीक्षा पायो । तर यसले पनि दर्शक तान्न सकेन । यी चलचित्रले कति कलेक्सन गरे सार्वजनिक निर्माणपक्षले सार्वजनिक गरेका छैनन् । तर हलको अकुपेन्सी हेर्दा राम्रो कलेक्सन नगरेको स्पष्ट हुन्छ ।

जेठ ३२ गते ‘बाटोः रोड टु डेथ’ रिलिज भयो । यसले राम्रो शो पाउन सकेन । समीक्षा पनि औसत पाउँदा कति कलेक्सन गर्छ हेर्न बाँकी छ ।

माथि उल्लेखित चलचित्रको कलेक्सन केही निर्माण पक्षले सार्वजनिक गरेको हो भने । केही बक्सअफिस स्रोतले बताएको हो । चलचित्र विकास बोर्डले बक्सअफिस रिपोर्ट सार्वजनिक नगर्दा यसको आधाकारिकता भने निर्माता कति इमान्दार छन्, त्यसमै निर्भर रहन्छ ।