फुट्ने होइन जुट्ने गर, पैसा कमाउने भए एकै ठाउँ बस
काठमाडौं । नेपाली चलचित्र उद्योगमा आलोचना, मनमुटाव र फुट नयाँ होइन । नयाँ टिम बन्ने र फुट्नेक्रम पुरानै हो ।
दीपकराज गिरीले नेतृत्व गरेको टिम तितरवितर भयो । यो टिमबाट निस्किएर सिताराम कट्टेल र शिवहरि पौडेलले आफैँ चलचित्र बनाए । यो टिमबाट जितु नेपाल निस्किए । यो समूहबाट निस्किएका निर्मल शर्मा अहिले पुनः जोडिएका छन् ।
रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको टिम अलग भयो । अलग भएर छुट्टाछुट्टै चलचित्र नै बनाए । ‘प्रेमगीत’को टिम तितरवितर भयो । सुरुमा सुदर्शन थापा र सन्तोष सेन अलग भए । सन्तोषले प्रदीप खड्कालाई लिएर अलग हुँदा सुदर्शनसँग पूजा शर्मा थिइन् । सन्तोष र प्रदीपले लामै समय सहकार्य गरे । तर अहिले आएर उनीहरू पनि अलग अलग भएका छन् ।
‘कबड्डी’को टिमबाटै ‘बाँसुरी फिल्म्स’ र ‘सिनेमा आर्टस्’ बनेका छन् । यी केही उदाहरण मात्रै हुन्, यस्ता थुप्रै समूह छन् जो सँगै बसेर काम गर्न सकेनन् । मन मिल्दासम्म सबै ठिक नमिलेका दिन एकले अर्काको अस्तित्व स्वीकार्न नसक्ने नेपाली सिने उद्योगको रोग नै हो । रोगले सधैँ गर्ने असर नै हो, फाइदा किन गर्थ्यो र ?
एक ठाउँमा बसेर काम गर्दा सुपरहिट चलचित्र दिएकाहरू तितरवितर भए । उनीहरूका चलचित्रको हालत पनि त्यस्तै भयो । अपावादमा दीपकराज गिरीले बनाएका चलचित्र भने चलिरहेका छन् । तर उनको टिमबाट निस्किएकाहरूका चलचित्र भने ‘फल्प’ भए । शिवहरि पौडेलले बनाएको ‘लक्का जवान’ चलेन । सिताराम कट्टेलले बनाएको ‘सेन्टी भाइरस’ पनि त्यस्तै भयो । चलेन ।
सुरुमा ‘प्रेमगीत’ कै टिम फुट्दा पनि दुवैले त्यसको असर व्यहोरे । ‘म यस्तो गीत गाउँछु’ र ‘प्रेम गीत–२’ नै हाइप बनाए पनि हाइपअनुसार चलेनन् । ‘कबड्डी’को टिम एक हुँदा नेपाली बक्सअफिस कै रेकर्ड ब्रेक गरेको यो टिम जब फुट्यो अवस्था दयनीय नै बन्यो । रामबाबु गुरुङ र उपेन्द्र सुब्बा दुवैले त्यसको असर नराम्ररी भोगे । केही समय अगाडि मात्रै रिलिज भएको ‘डिग्री माइला’ र ‘मनसरा’ दुवैले आसातित व्यापार र समीक्षा पाएनन् । टिम फुट्दाको असर टड्कारै देखियो यी चलचित्रमा ।
चलचित्रकर्मीहरूको फुटको श्रृंखलाले निरन्तरता पाइरहेकै छ । सिने नगरीका धेरैलाई थाहा छ फुटको असर के र कस्तो हुन्छ भन्ने । तर पनि यसलाइ नजरअन्दाज गर्न छोडेका छैनन् ।
यही आइतबार (आज) मात्रै भर्खरै रिलिज भएको ‘बोक्सीको घर’को टिममा मनमुटाव देखिएको छ । हुन त यो चलचित्रमा ठूलो टिम छैन । लेखक, निर्देशक तथा अभिनेता सुलक्षण भारती र अभिनेत्री केकी अधिकारी मात्रै हुन् । तर उनीहरू नै मिल्न नसकेको सुलक्षणको फेसबुक पोस्टले देखाएको छ । उनले यो चलचित्रको लेखक, निर्देशक र अभिनेतको नाताले सजर्क आफू भए पनि ‘बोक्सीको घर’को कार्यक्रममा आफूलाई नै बेवास्था गरिएको भन्दै केकीसँग चित्त दुखाएका छन् । सामाजिक र आर्थिक रूपमा आफू कमजोर भएकै कारण आफूलाई बेवास्था गरिएको बताएका छन् । यस्तै हो भने अब केका लागि र किन चलचित्र बनाउनु भन्दै उनले प्रश्न गरेका छन् ।
यो प्रश्नसँगै जन्मिएको महत्वपूर्ण कुरा के भने यो टिम फुट्दै छ । यो टिम फुटेपछि घोषणा गरिएको ‘बोक्सीको घर–२’ बन्छ कि बन्दैन भन्ने अन्योल भएको छ । बन्यो भने यसको निर्देशक, लेखक र अभिनेता को हुनेछ ? सुलक्षणको ठाउँमा अरु कसैलाई लिएर केकीले यो सिनेमा बनाइन् भने त्यो कति विश्वस्नीय होला ? के त्यसले पहिलो सिरिजले जस्तै १० करोडमाथि ब्यापार गर्न सम्भव होला ? इतिहासले सम्भव देखाउँदैन (अपबादबहेक) ।
अतः फुटेर हैन बक्सअफिस र दर्शकको नजरमा सफल हुन एक ठाउँमा बसेर सँगै काम गर्नुपर्छ । अन्यथा नाफा खोजे पनि हातलाग्ने घाटा नै हो । त्यसैले नाफा खोज्ने हो भने फुटेर होइन जुटेर बस । यसमै चलचित्रकर्मी र चलचित्र उद्योगको हित छ । होइन भने डुब्ने र उठिबास नै लाग्ने हो ।
त्यसैले समस्या के मा हो, असन्तुष्टि के हो ? सँगै बसेर मन माझामाझ गर । बक्सअफिसलाई सफल चलचित्र देऊ, सफल चलचित्रकर्मी बन् । असफल चलचित्रकर्मी बन्ने बाटो हिँड्नै बन्द गर ।