karsang
Close Me

चलचित्र निर्देशक थापासहित तीन जनाविरुद्ध मुद्दा दायर, आर्जन गरेको रकम र सात वर्षको कैद सजाय मागदाबी

चलचित्र निर्देशक सुदर्शन थापासहित तीन जनाविरुद्ध जिल्ला काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

आपराधिक विश्वासघात गरेको आरोपसहित दायर गरिएको उक्त मुद्दामा निर्देशक थापासहित ओएसआर डिजिटलका ओमप्रकाश अग्रवाल र सम्पादक मिलन कुमार श्रेष्ठलाई प्रतिवादी बनाइएको छ ।

चलचित्र ‘प्रसाद-२’ का निर्माता सुदर्शन बस्नेतले उनीहरुविरुद्ध आपराधिक विश्वासघातको उजुरी दिएका थिए । उजुरीका आधारमा प्रहरीले खोज्न थालेपछि निर्देशक थापा फरार भएको अवस्थामा जेठ अन्तिमतिर पक्राउ परे। प्रहरी वृत्त बौद्धको हिरासतमा तीन दिन बसेका उनी हाजिर जमानीमा छुटेका थिए। फिल्म सम्पादक श्रेष्ठ र ओएसआरका प्रमुख अग्रवाल पनि हाजिर जमानीमा छुटेका थिए।

निर्देशक थापा, सम्पादक श्रेष्ठ र ओएसआर डिजिटलका प्रमुख अग्रवालले कुनै जानकारी नदिई चलचित्रको एउटा फाइल आफूसँग राखेको, चलचित्रको ट्रेलर विक्री वितरण गरेको भन्दै निर्माता बस्नेतले १ करोड ५० लाख क्षति भएको भन्दै उजुरी दिएका हुन् ।

बौद्धस्थित प्रहरी वृत्तले तीन जनाविरुद्ध अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन वुझाएको थियो । सरकारी वकिलले प्रहरीले वुझाएको प्रतिवेदनका आधारमा अदालतमा मुद्दा दर्ता गराएको हो ।

आपराधिक विश्वासघात गरी चलचित्र ‘प्रसाद–२’ बाट अवैध आर्जन गरेको भन्दै सो रकम विगोदाबी गरिएको छ । साथै, प्रतिवादीहरुलाई जनही ७/७ वर्षको कैद सजायसमेत मागदाबी गरिएको छ ।