नवीन ‘नेपाल–अमेरिका फिल्म फेस्टिभल’का चिफ जुरी !
काठमाडौं । चलचित्र ‘गाउँ आएको बाटो’का निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राईले नेपाल–अमेरिका इन्टरनेसनल फिल्म फेस्टिभलमा सहभागिता जनाउने भएका छन् । फेस्टिभलमा उनीहरूको सिनेमा ‘गाउँ आएको बाटो’को ओपनिङ स्क्रिनिङमा रुपमा रहेको छ ।
आगामी जुन २० देखि सुरु हुने फेस्टिभलको रेडकार्पेट प्रिमियरमा निर्देशक सुब्बा र अभिनेता राई सहभागी हुन लागेका हुन् ।
आमोद राईले निर्माण गरेको सिनेमामा दयाहाङसहित पशुपति राई र बाल कलाकार प्रसन राईको अभिनय छ । गाउँमा सडक पुगेपछि त्यसले बाबुछोराको सम्बन्धमा ल्याउने उतार चढावको कथा भन्छ ।
यो महोत्सव समापन सिनेमाको रुपमा ‘द रेड सुटकेस’ स्क्रिनिङ हुनेछ । भेनिस सिनेमा माहोत्सवमा विश्व प्रिमियर भैसकेको सिनेमालाई फिडेल देवकोटाले निर्देशन र रामकृष्ण पोखरेलले निर्माण गरेका हुन् ।
मेरिल्याण्ड राज्यमा जुन २० देखि २३ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, सर्ट र एनिमेसन गरि ३५ सिनेमा स्क्रिनिङ हुनेछन् ।
महोत्सव उदघाटन र समापन मेरिल्याण्डस्थित एएफआई सिल्भर थिएटरमा हुने आयोजक नेपाल–अमेरिका सिनेमा सोसाइटीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सोसाइटीले फेस्टिभलको प्रतिस्पर्धामा रहेका सिनेमाको जुरी मेम्बर भने सार्वजनिक गरेको छैन । तर स्रोतका अनुसार नवीन सुुब्बा उक्त फेस्टिभलको जुरी हेड हुन् । उक्त फेस्टिभल सकिएपछि उनी नेपाल फर्किने छन् ।