सम्पादकीय: नियत खराब राखेर सिनेमा नजुधाऊ, दुईवटा सिनेमा रिलिज हुँदा रोइलो नगर
यही जेठ १० गते दुईवटा नेपाली सिनेमा रिलिज भए । दुवै सिनेमा हाइप र स्टारकास्टका हिसावले प्रतिक्षित थिए । अनमोल केसी स्टारर ‘फर्की फर्की’ र मल्टी स्टारर ‘पुजार सार्की’ एकै दिन रिलिज भएका थिए । ‘पुजार सार्की’मा प्रदीप खड्का, आर्यन सिक्देल र पल शाह मुख्य भूमिकामा छन् । त्यसैले पनि यी दुवै सिनेमा कमर्सियल हिसावले पनि सफल हुनेमा धेरैको अपेक्षा थियाे/छ । त्यसैले यी दुवै सिनेमा एकै दिन रिलिज हुनु हुँदैन भन्ने धेरैको राय/सुझाव थियो । व्यापारको नतिजा त केही दिनमा आउनेछ ।
त्यसो त जेठ १० को वरिपरि नै सोलो रिलिज गर्न चाहनेका लागि खाली शुक्रबार थिए । अगाडि सिनेमा तयार गर्न सम्भव छैन भने पछि त पक्कै फरक/फरक मितिमा आउन सकिन्थ्यो । तर एउटै मितिमा यी चलचित्र किन रिलिज भए ? त्यो निर्माता र वितरकले नै जान्ने कुरा भयो । तर समाचारमा आएजस्तो ‘इगो’ साध्न कै लागि एकै मितिमा आएका हुन् भने गलत हो । निर्देशकको ‘इगो’का कारण कोही कुनै निर्माता किन डुब्ने ? व्यक्तिको रिस र द्वेषमा निर्दोष निर्माता किन पर्ने ? निर्देशक/निर्देशक वा निर्माता/निर्माता अथवा वितरक/वितरक अथवा निर्देशक र निर्माताबीचको घोषित वा अघोषित द्वन्द्वमा निर्दोष निर्माताको करोडौं रुपैयाँ किन दाउमा राख्ने ? यसमा स्वयं सम्बद्धपक्षले सोच्नुपर्छ ।
दुवै निर्माता स्वतन्त्र बजार हो भनेर खुला बजारमा स्वस्थ प्रतिस्पर्धामा उत्रिने हो भने यसमा कसैको टाउको दुखाइ भएन । खुसी/खुसी मनले एकै मितिमा आएको हो भने यसलाई अन्यथा सोच्नु हुँदैन । प्रतिस्पर्धाको विकल्प पनि छैन । तर निर्देशक र वितरकको लडाईंमा नयाँ निर्माता र वा सिनेमाको बजार नबुझेको निर्माता छ भने उसलाई साँढेको जुधाई बाच्छाको मिचाईमा पारिनु हुँदैन । कसैलाई सक्काउने नाममा आफ्नो निर्मातालाई निर्देशक र वितरकले बलिको बोको बनाउनु हुँदैन । ठूलो लगानीमा बनेका र सम्भावना बोकेका चलचित्र नियत खराब राखेर एकै मितिमा जुधाउनु हुँदैन । यसले अन्ततः असर पुर्याउने समग्र चालचित्र क्षेत्रलाई हो । त्योभन्दा पनि पहिला नियत उजागर भएका दिन नांगिने नियत खराब राखेर सिनेमा जुधाउने व्यक्ति नै हो । चलचित्र उद्योगबाट ढिलो/चाँडो पाखा लाग्ने खराब व्यक्ति नै हो । त्यसैले यसमा सबैले आजै मम नभने भड्खालोमा जाकिने आफैँ हो । बेलैमा मम भनौं । आफू र आफू रहेको चलचित्र उद्योगलाई जोगाऔँ । यसमै सबैको भलो छ ।
नियत खराब राखेर ठूलो लगानीमा बनेका र सम्भावना बोकेका चलचित्र एकै मितिमा जुधाउनु हुँदैन । यसले अन्ततः असर पुर्याउने समग्र चालचित्र क्षेत्रलाई हो । त्योभन्दा पनि पहिला नियत उजागर भएका दिन नांगिने नियत खराब राखेर सिनेमा जुधाउने व्यक्ति नै हो । त्यसैले आफैँ मम भनौं । यसमै सबैको भलो छ ।
रह्यो कुरा, दुई वा दुईभन्दा धेरै सिनेमा एकै दिन रिलिज गर्न हुन्छ वा हुँदैन भन्ने । खुला बजार र खुला अर्थतन्त्रको सौन्दर्य भनेकै स्वस्थ प्रतिस्पर्धा हो । स्वस्थ प्रतिस्पर्धामा जो खरो उत्रिन्छ, उसैले आफ्नो प्रभाव छोड्छ । बजार लिन्छ । अर्थात् बजारमा रहेका विकल्पसहितका सामग्रीमा जो असल र गुणस्तरीय छ, त्यसैलाई उपभोक्ताले रोज्ने हो । खरिद् गर्ने हो । त्यसैले जति धेरै प्रतिस्पर्धा हुन्छ, त्यति नै धेरै गुणस्तरीय सामग्री बजारमा आउँछ । जति धेरै सामग्री बजारमा आयो त्यति धेरै छनोटको सुविधा उपभोक्तालाई हुने भएकाले उसको हातमा राम्रो सामग्री पर्छ ।
चलचित्र पनि सामग्री हो । कलाको बजार र व्यापार हो । त्यसैले यसमा पनि प्रतिस्पर्धा हुनु सामान्य हो । अझ सुन्दर पक्ष हो । यो प्रतिस्पर्धाले सिनेमाको गुणस्तर अथवा राम्रा चलचित्र बनाउन जबरजस्त प्रेरित गर्छ । त्यसैले सिनेमाको प्रतिस्पर्धालाई अथवा एकै दिन दुई वा शोभन्दा धेरै सिनेमा रिलिज हुनु आफैँमा नराम्रो होइन । यो त बजारको सुन्दर पक्ष हो । एउटाभन्दा धेरै सिनेमा रिलिज हुनु हुँदैन भन्नु चाहिँ सिन्डिकेट हो । बजारमाथिको एकाधिकार हो । खुला बजारविरुद्ध हो । जुन खुला बजार व्यवस्थाविरोधी संस्कार र प्रवृत्ति हो । यसले प्रतिस्पर्धालाई रोक्छ । प्रतिस्पर्धालाई रोकेपछि स्वभाविक हो, कमसल सामान बजारमा आउँछ । जसलाई खपत गर्न उपभोक्ता बाध्य हुन्छन् ।
त्यसैले एकै दिन एकभन्दा धेरै सिनेमा प्रदर्शनमा आउँदा कसैले रोइलो गर्नु पर्दैन । मल्टिप्लेक्सको संख्या उच्च रहेको बजार, अबेर राति र बिहान सबैरै पनि सिनेमा प्रदर्शन भएको नजिर आँखै अगाडि छ । त्यसमा पनि आर्ट (सिनेमा)को बजार, बजारमा पाइने स्याउ, सुन्तलाको जस्तो होइन, आज बिक्री नभए भोलिसम्म कुहिएर जाने । सिनेमा त पचासौँ वर्षपछि पनि हेर्न सकिने र खोजिने सामग्री हो । आज सही मूल्यांकन नभए भोलि हुन्छ । शुक्रबार बजारमा ठाउँ नपाए आइतबार पाउँछ । बजारले सधैँ राम्रो र गुणस्तरीय समाग्री उपभोग गर्छ । त्यसैले कोही हच्किनु र डराउनु पर्दैन । त्यसमा पनि दुइटा चलचित्रले पर्याप्त शो पाउने अहिलेको बजारमा दुईवटा सिनेमा एकैदिन रिलिज हुँदा रोइलो होइन खुला हृदयले स्वागत गर्नुपर्छ ।