कतै सस्तो कमेडी त आउँदै छैन ?
काठमाडौं । सिमोस सुनुवारको निर्देशन र सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘जन्ते बाख्रो’को छायाङ्कन अगावै थिम पोस्टर सार्वजनिक भएको छ ।
‘जन्ते बाख्रो’को फर्स्टलुक पोस्टरले सिनेमा कमेडी रहेको संकेत गरेको छ । पोस्टरमा बाख्रालाई चस्मा लगाइदिएको र छाता ओडाइदिएको देख्न सकिन्छ ।
चलचित्र कमेडीको बेसमा रहने संकेत थिम पोस्टरले गरेको छ । भदौंदेखि फ्लोरमा जाने सिनेमाको सम्पूर्ण छायांकन गाउँमा गरिने जनाइएको छ।
‘जन्ते बाख्रो’मा प्रदीप भारद्वाजको लेखन रहेको छ । सिनेमाले त्रिकोणात्मक प्रेमकथालाई देखाउने बताइएको छ । मुइन इन्टरटेनमेन्टको ब्यानरमा बन्ने सिनेमाको निर्मातामा सन्तोष गौतम र निर्देशक सिमोस स्वयं छन् ।
बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भनिन्छ । चलचित्रको कथावस्तु यसकै वरिपरि घुम्ने बताइएको छ ।
यो सिनेमामा सिमोस र सौगातले तेस्रो पटक सहकार्य गर्दैछन् ।
यसअघि चलचित्र ‘भइरल गोर्खे’ निर्माण पक्षले पनि सौगात दुइवटा भैँसीमा चढेको तस्बिर सार्वजनिक गरेको थियो । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगसँगै सिनेमाले भाइरल हुन जे पनि गर्ने बढेको खराब प्रवृत्तिलाई सिनेमाले देखाउने बताइएको छ ।
पछिल्लो समय कमेडी चलचित्रले नै राम्रो ब्यापार गरेका छन् । तर, कमेडी चलचित्र चलिरहेका छन् भनेर देखासिकी गरेका चलचित्रले लगानीको सानो अंश पनि उठाउन नसकेका धेरै उदाहरण छन् ।
त्यसैले कमेडीका नाममा साह्रै नै सस्तो चलचित्र त बन्दै छैन ? मेकरभन्दा दर्शक बुझ्ने भइसकेको समयमा कुन स्तरको कमेडी पस्किने सुरुमै निर्माण पक्षले सचेत बन्नु नै बुद्धिमानी हुने देखिन्छ ।