तीजमा अमेरिका नचाउँदै रचना, शान्ति श्री र ज्योति
काठमाडौं । आयोजक फ्लाइ नेपाले अमेरिकाका नेपालीलाई नचाउने लक्ष्यसहित ‘अब नाच्छ अमेरिका’ कार्यक्रमको आयोजना गर्ने भएको छ । फ्लाई नेपाका सिइओ विनोद अधिकारीले देशका चर्चित स्टयान्ड कमेडियनलाई लिएर गरिएको अमेरिका यात्रा अत्यधिक सफल भएपछि नचाउने उद्देश्यसहित ‘अब नाच्छ अमेरिका’ नाममा कार्यक्रम गर्न लागेको जानकारी गराएका छन् ।
अधिकारीका अनुसार यो नचाउने यात्रामा देशका चर्चित गायिका शान्ति श्री परियार , रचना रिमाल र ज्योति मगरले सहभागिता जनाउनेछन् । यसैगरी यो यात्रामा लोकदोहोरीकी चर्चित मोडल करिष्मा ढकालको पनि साथ रहनेछ ।
आयोजक विनोद अधिकारीले तीजको अवसर पारेर अमेरिकाका ८ वटा राज्यमा हुने कार्यक्रमले नेपालीलाई मनोरञ्जनसहित नेपालमै रहेको आभाष दिलाउने विश्वास लिएका छन् । “तीजको सम्झना बोकेर अमेरिकामा बसिरहनु भएका सम्पूर्ण नेपालीलाई गाउँघर सम्झाउने र रमाइलो गराउने हाम्रो उद्देश्य हो । यसले कुनै न कुनै रुपमा नेपाली गीत संगीतको प्रवद्र्धनमा पनि भूमिका खेल्ने विश्वास लिएको छु,” अधिकारीको भनाइ छ ।
आयोजकका अनुसार अमेरिकाका न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो र क्यालिफोर्नियामा कार्यक्रम तय भइसकेको छ ।