बक्सअफिस रिपोर्ट सार्वजनिक गर, बदनाम हुनबाट बच

नेपाली चलचित्रमा प्रतिचलचित्र र वार्षिक कति लगानी हुन्छ, कति ग्रस कलेक्सन हुन्छ, कति कमाउँछन् ? अधिकांशलाई थाहा हुँदैन । कारण निर्माताले स्पष्ट रूपमा लगानी खुलाउँदैनन् । चलचित्र विकास बार्डले बक्सअफिस रिपोर्ट सार्वजनिक गर्दैन । जसका कारण न लगानी थाहा हुन्छ न कमाइ ।

चलचित्रको लगानी र बक्सअफिस रिपोर्ट सार्वजनिक नहुनु भनेको पारदर्शिता नहुनु हो । जहाँ पारदर्शिता हुँदैन त्यहाँ लगानीकर्ता मारमा पर्ने सम्भावना उच्च हुन्छ । पारदर्शिता नहुने ठाउँमा लगानीकर्ताको आकर्षण हुँदैन । जुन समस्या अहिले नेपाली चलचित्र उद्योगले व्यहोरिरहेको छ ।

कुन चलचित्रले कति कमाए, थाहा पाउने राम्रो स्रोत बक्सअफिस रिपोर्ट नै हो । बक्सअफिस रिपोर्ट सार्वजनिक हुने हो भने कुन चलचित्रले कति ग्रस कलेक्सन गरे भन्ने थाहा हुन्छ । यसले आम नागरिकले जानकारी त पाउँछन् नै यो क्षेत्रमा लगानी गर्ने लगानीकर्तालाई पनि धारणा र योजना बनाउन सहज हुन्छ ।

यसमा मुख्य भूमिका चलचित्र विकास बोर्डको हुन्छ । किनकी बक्सअफिस रिपोर्ट बोर्डसँग हुन्छ । त्यसैले यो सार्वजनिक गर्ने वा नगर्ने उसकै हातमा छ ।

अघिल्लो वर्ष दुईपटक बोर्डले बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको पनि थियो । त्यसले निर्माता, वितरक तथा निर्देशकहरूले आफ्नो चलचित्रको कमाई कति अतिरञ्जित गर्दा रहेछन् भनेर थाहा भएको थियो । मिडियाले कति सत्यतथ्य समाचार दिँदारैछन् भन्ने पनि प्रष्ट भएको थियो । पेड मिडिया र इन्फ्ल्युएन्स मिडियाको अवस्था कस्ता रहेछ भनेर धेरैले मूल्यांकन गर्ने मौका पनि पाए ।

कमाईको दुई/तीन गुणा बढाएर मिडियालाई जानकारी दिने गरेको तथ्य दुइपटक सार्वजनिक तथ्यांकले पुष्टि गरिदिएको थियो । त्यसैले वास्तविकता के हो भन्ने जानकारीका लागि पनि बक्सअफिस रिपोर्ट सार्वजनिक गर्न आवश्यक छ ।

कमाइको तीन गुणा बढाएर चलचित्रको कमाइ देखाएर नयाँ निर्माता फसाउने प्रवृत्तिको अन्त्य गर्न पनि नियमित बक्सअफिस रिपोर्ट सार्वजनिक आवश्यक छ । होइन बक्सअफिस रिपोर्ट सार्वजनिक नगर्ने हो भने वर्षमा सफल एकाध चलचित्रको कमाइ देखाएर नयाँ निर्माता ल्याउने र फसाउने गलत प्रवृत्ति झन मौलाउने छ । जुन आफैँमा यो उद्योगका लागि घातक छ ।

जहाँ पारदर्शिता हुन्छ त्यहाँ सुरुमै अध्ययन गरेर लगानीकर्ता आउँछन् । पर्याप्त अध्ययन र सम्भाब्यता अध्ययन गरेर आएका कलगानीकर्ताले गरेको लगानी मात्रै दिगो हुन्छ । जालसाझी र भ्रममा पारेर ल्याइएका लगानीकर्ता दोहोरिदैनन् । यो सत्यलाई शीरोपर गरेर विकास बोर्डले नियमित बक्सअफिस रिपोर्ट सार्वजनिक गर्नुपर्छ । अनिमात्रै दिगो लगानी चलचित्र क्षेत्रमा आउँछ । र, यो क्षेत्रको दीर्घकालीन विकास र विस्तार सम्भव छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सुरुमा बक्सअफिस रिपोर्ट सार्वजनिक गरेपछि अब नियमित रूपमा सार्वजनिक गर्ने बताएका थिए । तर, उनले दुइपटक भन्दा बढी सार्वजनिक गर्न सकेनन् । किन उनी आफ्नै निर्णयबाट पछि हटे ?

उनलाई कसैले दबाब दिएर सार्वजनिक गर्न नसक्ने अवस्था आएको हो भने कसले दबाब दियो भुवनले सार्वजनिक गर्नुपर्छ । होइन भने बक्सअफिस रिपोर्ट किन सार्वजनिक गरेनन्, कतै यसमा उनको नियत त खराब छैन भन्ने प्रश्न उनीमाथि उठिरहनेछ ।

यो प्रश्नको जवाफ र समग्र चलचित्र क्षेत्रको विकास र विस्तारका लागि पनि उनले बक्सअफिस नियमित सार्वजनिक गर्न आवश्यक छ । होइन भने यसबाट पर्ने नकारात्मक प्रभावको अपजस भुवनले आजिवन लिइरहनु पर्नेछ ।

नयाँ निर्मातालाई ठगिनबाट जोगाउन, दीर्घकालसम्म लगानी गर्ने निर्माता भित्र्याउन, भ्रमको खेती बन्द गर्न र चलचित्र क्षेत्रको विकास र विस्तार गर्न पनि बक्सअफिस रिपोर्ट नियमित सार्वजनिक आवश्यक छ ।