दयाहाङको यात्रा उकालो कि ओरालो ?

काठमाडौं । निसन्देह दयाहाङ राई अहिलेको नम्बर एक अभिनेता हुन् । समकालीन हुन वा अग्रज अथवा अनुज पुस्ता, सबैलाई पछि पारेका उनी पहिलो रोजाइको अभिनेता बन्न सफल छन् ।

उनको समय कुर्न वर्ष दिन पनि आफ्नो सिनेमाको सेड्युल पछि सार्न मेकर तयार छन् । भइरहेको पनि त्यही नै छ । एक वर्षपछि सम्मका लागि उनी प्याक भइसकेका छन् । उनीसँग नयाँ चलचित्रमा काम गर्नका लागि समय छैन ।

त्यसैले उनी नयाँ चलचित्रमा यति बेला साइन गरिरहेका छैनन् । यद्यपि, राम्रो स्क्रिप्ट छुट्छ कि भनेर केही स्क्रिप्ट भने पढिरहेका छन् ।

व्यस्त छन्, नयाँ सिनेमा गर्न समय छैन । फ्यान फलोइङ पनि गज्जवकै छ । उनका सिनेमा पनि हरेक महिना जस्तै रिलिज भइरहेका छन् । कति समय त महिना दिन पनि उनका सिनेमा हेर्न कुर्नु पर्दैन । हुँदाहुँदा एकैदिन दुइटासम्म पनि लाग्छन् आक्कलझुक्कल ।

तर, उनका चलचित्र दर्शकले हेरिरहेका छन् कि छैनन् ? दयाहाङ अभिनीत चलचित्र दशर्कले रुचाइरहेका छन् कि छैनन् ? यो भने अध्यननको विषय बनेको छ । दर्शक वा पत्रकारभन्दा पनि सायद मेकरका लागि यो अध्ययनको जरुरी छ ।

कारण उनीमाथि लगानी गर्ने कि नगर्ने, गरे कति गर्ने, कसरी गर्ने, कस्ता खालका चलचित्रका लागि गर्ने भन्ने मेकरले अध्ययन गर्नुपर्ने देखिएको छ । यसको हेक्का अनुभवी र बुज्रुक लगानीकर्तालाई सायद परिसकेको पनि हुनसक्छ ।

दयाहाङ अभिनीत चलचित्र ‘डिग्री माइला’ले पैसा नकमाएको होइन । तर टिम, ब्रान्ड र हाइप अनुसार यो सिनेमाले पैसा कमाएन । यो कसैबाट लुकेको विषय होइन ।

‘मनसरा’मा उनी मुख्य भूमिकामा त थिएनन् । तर निर्माणपक्षले उनकै अनुहार बेच्न खोजेको थियो । यो चलचित्र पनि ब्रान्ड, टिम र हाइपअनुसार चलेन ।

त्यसपछि उनको चलचित्र रिलिज भयो ‘गाउँ आएको बाटो’ । टिम, मेहनत र हाइप सबै राम्रो भए पनि यसले पनि राम्रो ब्यापार गर्न सकेन । यी तीनवटै चलचित्रले मिश्रित मात्रै समीक्षा पाए ।

दयाहाङको क्रेज छ । मिडिया कभरेज छ । मिडियाले लोभलाग्दो स्पेश दिएका छन् । उनको अभिनय मन पराउने दर्शकको संख्या पनि सानो छैन । उनी अभिनीत भन्नबित्तकै फरेन राइट्सबाट चलचित्रले राम्रो पैसा पनि पाउँछ । तर हलमा भने सोचेजस्तो चलचित्र गइरहेको छैन ।

रामबाबु गुरुङ, उपेन्द्र सुब्बा, नवीन सुब्बाजस्ता भेट्रान निर्देशकका चलचित्रमार्फत पनि उनले हलमा दर्शक तान्न नसकेको कसैबाट लुकेको छैन । त्यसैले यसको कारण के हो दयाहाङ स्वयं र मेकरले पनि खोज्नु पर्ने समय आइसकेको छ ।