‘बलिदान’मा छायांकार र द्वन्द्वनिर्देशकको पारिश्रमिक आमनेपाली सिनेमाको भन्दा धेरै

काठमाडौं । सन्तोष सेन चलचित्र निर्माण प्रचारमा नयाँ नयाँ प्रयोग गर्न रुचाउने व्यक्ति हुन् । यसैक्रममा उनी अहिले कथाहरूको ‘महाकथा’मा चलचित्र ‘बलिदान’ बनाउन लागेको बताइरहेका छन् ।
यसपटक उनी कमर्सियल एक्सन ड्रामा बनाउँदैछन् । यसका लागि विशेष प्रयोग गर्ने उनले निर्णय गरिसकेका छन् । सिनेमालाई स्तरीय बनाउन एक्सन र छायांकनमा मात्रै दुई करोड भारु खर्च गर्ने भएका छन् ।
दुई करोड भारु खर्चिएर उनले ‘बलिदान’का लागि साउथका द्वन्द्वनिर्देशक र छायाकार ल्याएका छन् । छायांकनको तयारीमा रहेको चलचित्रका लागि द्वन्द्वनिर्देशक र छायाकार भारतबाट हायर गरेका हुन् । नेपाली रुपैयाँ तीन करोड २० लाखमा बिग बजेटका चलचित्र बन्दै आएका छन् ।
द्वन्द्वनिर्देशक स्टन्डर साम र छायाकार शरण ऋषिलाई उनले अनुबन्ध गराएका छन् । द्वन्द्वनिर्देशक सामले राणा दगुबत्तीको चर्चित चलचित्र ‘हात्ती मेरे साथी’, चियान विक्रमको चलचित्र ‘थंगलम’लगायतमा काम गरिसकेका छन् ।
छायाकार ऋषि गत हप्ता रिलिज भएको नेपाली चलचित्र ‘बाटोः रोड टु डेथ’का छायाकार हुन् । उनले दक्षिण भारतमा चर्चित चलचित्रहरू सुपरस्टार रजनिकान्तको चलचित्र ‘पेट्टा’ र सुपरस्टार चिरञ्जीवीको चलचित्र ‘आचार्य’को छायांकन टिममा काम गरेका छन् ।
लाइट, साउन्ड, क्यामेरालगायत प्राविधिक सामग्रीहरू भारतको मुम्बईबाट ल्याउने निर्देशक सन्तोषको भनाइ छ ।
सिनेमेटोग्राफर, द्वन्द्वनिर्देशक, साउन्ड, लाइटलगायत गरेर ५० देखि ६० जना भारतबाट आउने उनले बताएका छन् ।
दक्षिण भारतबाट प्राविधिक र मुम्बईबाट इक्विपमेन्टहरू ल्याएर काम गर्ने तयारी रहेको छ ।
पहिलोपटक सन्तोष सोलो निर्देशन गर्दैछन् । यसपटक आफू कुनै कम्प्रमाइज नगरी चलचित्र बनाउने पक्षमा रहेको बताउँछन् । वर्ल्ड क्लासको एक्सन ड्रामा बनाउने उनको भनाइ छ ।
सुरुमा ६ करोड बजेटमा निर्माण गर्ने भनिए पनि र्मिाणपक्षका अनुसार ५० प्रतिशत लगानी बढ्नेछ ।
बलिदानको छायांकनका लागि इटहरीमा छायांकन स्टुडियोमा सेट तयार भइरहेको छ । विराटनगर क्षेत्रमा पनि सेट निर्माणको काम अन्तिम चरणमा छ । यो चलचित्रको ६० प्रतिशत छायांकन स्टुडियोमा नै हुनेछ ।
‘बलिदान’को मुख्य भूमिकामा नेपाली चलचित्रका एक्सन नायक बिराज भट्टका छोरा समीर भट्टले अभिनय गर्दैछन् । भट्टले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिमहरू गरिरहेका थिए ।
चलचित्रमा अभिनेता सौगात मल्ल, अर्पण थापा, दिव्य देव तथा अभिनेत्री ऋचा शर्माको पनि प्रमुख अभिनय रहने बताइएको छ ।


