जिब्रोमा लगाम नभएपछि हुने यस्तै हो, खाने गाली नै हो

काठमाडौं । कान्तिपुर टेलिभिजनबाट प्रशारण भइरहेको ‘इट्स माइ शो’को पछिल्लो एपिसोड विवादमा तानिएको छ ।

सुरज सिंह ठकुरीले छाडेसँगै गत एपिसोडदेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने यो शो ओसिन सिटौलाले सञ्चालन गर्ने थालेकी छन् । यस कार्यक्रमको तीन दिन अगाडि प्रशारित एपिसोडमा नायिकाद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह अतिथिका रूपमा पुगेका थिए ।

अघिल्ला प्रस्तोता सुरज सिंह ठकुरीले सञ्चालन गरेको कार्यक्रममा देखिने स्तरीय संवादको शैली ओसिनमा आइपुग्दा बोझिलो बन्न पुग्यो । अझ, त्यसमा थपियो सेक्सको तड्का । जसका कारण ओसिनको पहिलो एपिसोड नै विवादित बन्न पुग्यो ।

यो एपिसोडमा कार्यक्रम प्रस्तोता ओसिनले स्वस्तिमा र साम्राज्ञीलाई केही उत्तेजक र आपत्तिजनक प्रश्न सोधेकी थिइन् । जहाँ कलाकारहरूको नितान्त व्यक्तिगत विषयमा टिप्पणी भएका थिए ।

ओसिनले उक्त कार्यक्रमको ‘बजर राउन्ड’मा स्वस्तिमा र साम्राज्ञीलाई सोधेकी थिइन्, ‘पहिले धिरज मगरसँग डेट गरेकी एक नायिका जो अहिले अनमोल केसीसँग डेट गरिरहेकी छिन् ? उनी को हुन् ?’ यसको जवाफमा स्वस्तिमाले साम्राज्ञीलाई उछिन्दै ‘बजर’ दबाएर जसिता गुरुङ भनिन् । साम्राज्ञी थप्छिन्, ‘धिरज मगर, प्रदीप खड्का अनि अनमोल केसी ।’

स्वस्तिमा र साम्राज्ञीले नायिका जसितालाई नायक अनमोलको अहिलेको प्रेमिकाका रुपमा चित्रित गरे । यही विषयले अहिले बजार तताइरहेको छ । उनीहरुले अरुको चरित्रमाथिसोच विचार बिनै औँला उठाएको भनेर उनीहरूको कटु आलोचना भइरहेको छ ।

ओसिन यतिमा मात्रै रोकिइनन् फेरि उनीहरुलाई सोधिन्, ‘अनमोल केसीका कतिवटा गर्लफ्रेन्ड थिए र उनीहरूको नाम के हो ?’ यसमा साम्राज्ञीले आफूलाई थाहा नभएको बताउँदा स्वस्तिमाले नायिका आना शर्मा र पूर्वमिस नेपाल अश्मी श्रेष्ठको नाम लिइन् ।

जबकी, अहिलेसम्म अनमोलले कसैसँग आफ्नो प्रेम रहेको सार्वजनिक स्वीकारोक्ति गरेका छैनन् । व्यक्ति स्वयंले स्वीकार नगरेको अवस्थामा सार्वजनिक फोरममा यसरी खुलेर अरुको निजी जीवनबारे बोल्न पाइन्छ कि पाइँदैन भन्ने कुरा महत्वपूर्ण हो । यसैमा स्वस्तिमा र साम्राज्ञीको चर्को आलोचना भइरहेको छ ।

स्वस्तिमा र साम्राज्ञीले सामाजिक मर्यादासमेत ख्याल नगरी कार्यक्रममा उपस्थित नभएकी अर्का नायिकासहित अन्य व्यक्तिको निजी जीवनमा असर पर्ने गरी टिप्पणी गरे । उनीहरूले जसितालाई नायक अनमोलको अहिलेको प्रेमिकाका रुपमा औंल्याए ।

यसमा जसिताले कार्यक्रममा आफूलाई बदनाम गर्न खोजिएको भन्दै आपत्ति जनाइन् । जसिताले सामाजिक सञ्जालमा स्टाटस लेख्दै नायिकाद्वय स्वस्तिमा, साम्राज्ञी र कार्यक्रम प्रस्तोता ओसिन सिटौलामाथि गम्भीर प्रश्न उठाएकी छन् ।

उनले इन्स्टाग्राममा यो अन्तर्वार्ता हेरेपछि कार्यक्रमका अतिथि र होस्ट तीनै जनाप्रति आफूलाई गहिरो दुःख लागेको बताएकी छन् । ‘के हामी साँच्चै एक महिलाले अर्को महिलालाई होच्याउने प्रवृत्तिविरुद्ध छौँ ? उनीहरू कसैसँग मेरो व्यक्तिगत समस्या छैन । सुरुदेखि मैले उनीहरूलाई अभिनेत्री र होस्टको रूपमा उच्च सम्मान र प्रशंसा गर्दै आएकी छु । तर तपाईंहरूको यो कामले कतिको जीवन प्रभावित हुनेछ भन्ने सोच्नु भएको थिएन ?’

जसिताले महिला भएर महिलाकै विरुद्ध यस्तो कार्य गरेर कस्तो उदाहरण बन्नु भएको ? भनेर प्रश्न गरेकी छन् । उनले अगाडि लेखेकी छन्, ‘मेरो परिवारले तपाईंको अन्तर्वार्ता र समाचार हेरिरहेका छन् भन्ने लाग्दैन ? महिला भएर समाजका लागि कस्तो उदाहरण बसाल्नु भएको हो ? कसैको व्यक्तिगत जीवनलाई सार्वजनिक रूपमा बदनाम गर्ने र चर्चा गर्ने कारण के हो ?’

जसिताको यो पोस्टमा धेरैले कमेन्ट गर्दै उनको पक्षमा रहेको बताएका छन् ।

नायक अनमोल केसीले कमेन्ट गर्दै लेखेका छन्, ‘म आदरणीय नारीहरूलाई अनुरोध गर्न चाहन्छु, कृपया वास्तविक चरित्रमा ध्यान केन्द्रित गर्नु होस् र मात्रै रिल क्यारेक्टरमा केन्द्रित नहुनुस् ।’

जसिताको स्टाटसमा कलाकारदेखि उनका प्रशंसकसम्मले स्वस्तिमा र साम्राज्ञीको अभिव्यक्तिको आलोचना गरेका छन् । उनको स्टाटसमा अनमोलले समेत प्रतिक्रिया जनाउँदै पहिला वास्तविक चरित्रमा ध्यान दिएर त्यसपछि रिल चरित्रमा ध्यान दिन महिलाहरुलाई अनुरोध गरेका छन् ।

उनले इन्स्टाग्राम स्टोरीमा पनि लेखेका छन्, ‘भावनात्मक बदमासी वा मानसिक बदमासी भनेको अर्को व्यक्तिलाई अलग गर्न, खिल्ली वा जिस्काउने शब्दहरूको प्रयोग हो, भावनात्मक बदमासीले व्यक्तिको भावना, आत्मविश्वास र आत्म–मूल्यलाई लक्षित गर्छ ।’

यति मात्रै होइन, अनमोल फेसबुकमा लेख्छन्, ‘तिनीहरूले तपाईंलाई आदर गर्छन् भने, तिनीहरूलाई सम्मान गर्नुहोस् । यदि तिनीहरूले तपाईंलाई अनादर गर्छन् भन अझै पनि तिनीहरूलाई सम्मान गर्नुहोस् । अरूको कार्यलाई तपाईंको राम्रो तरिकालाई कम गर्न नदिनुहोस्, किनकि तपाईं आफैंको प्रतिनिधित्व गर्नुहुन्छ, अरूलाई होइन । सबैलाई सम्मान गर्नुहोस् ।’

जसिताले स्टाटस लेखेर चित्त दुखाएपछि स्वस्तिमा र साम्राज्ञीले उनीसँग माफी भने मागेका छन् । जसिताको स्टाटसमा कमेन्ट गर्दै स्वस्तिमा लेख्छिन्, ‘तिम्रो भावनामा चोट पुर्याएकोमा म साँच्चै माफी चाहन्छु । यो एक रमाइलो कार्यक्रम थियो । धेरै उत्साहजनक तरिकामा प्रकट भयो, तिमी सधैँ मेरो लागि धेरै राम्रो साथी छौ । र एकपटक फेरि म तिमीसँग माफी चाहन्छु ।’

साम्राज्ञीले पनि माफी मागेकी छन् । आफूले कुनै महिलालाई मात्र नभई कसैलाई पनि नीच देखाउने बारेमा नसोच्ने भन्दै स्पष्टीकरण दिएकी छन् ।

‘हामीलाई प्रश्नहरूको यो द्रुत राउण्डमा एक स्थितिमा राखिएको थियो, हामीले नतिजाको बारेमा सोचेका थिएनौँ । तर कुनै पनि तरिकाले तपाईंलाई धम्क्याउने प्रयास गरेका थिएनौँ, तपाईंको भावनामा चोट पु¥याएकोमा माफी माग्न चाहन्छु,’ उनले जसिताको स्टाटसमा कमेन्ट गर्दै लेखेकी छन् ।

तर, स्वस्तिमा र साम्राज्ञीको कमेन्टमा धेरैले उनीहरुलाई अश्लील गाली गलौज गरेका छन् ।

साम्राज्ञी सोतविचार नगरी जवाफ दिने प्रष्ट वक्ताको छवि भएकी नायिका हुन् । तर स्वस्तिमा भने तौलिएर बोल्ने नायिकको रुपमा चिनिन्थिन् । कार्यक्रममा ओसिन स्वयंले पनि स्वतस्तिमालाई यहि भन्दै तारिफ गरेकी थिइन् । तर साम्राज्ञी मात्र होइन स्वस्तिमाले पनि जिब्रोमा लगाम लगाउन नसक्दा आलोचना खेप्नु पर्यो ।

रमाइलो गर्न त पाइयो तर अर्काको मजाक उडाएर गर्नु कति बुद्धिमानी हो ? आफू र अरुबारे भिन्नता छुट्याउन सक्नुपर्छ होइन भने रमाइलो आफ्नै लागि घातक हुन्छ । विष रोपेपछि अमृत किन प्राप्त हुन्थ्यो र ?

अबबाट बोल्दा सोचविचार गर्ने हो कि, कोही कसैकाबारे बोल्दा त्यसको प्रभाव र असरबारे पनि सोच्ने पो हो कि ?