अर्काको हुर्मत लिनुअगाडि आफ्नै अनुहार हेर
नेपाली चलचित्र उद्योगमा एकले अर्कोलाई आक्षेप लागाउनु, गाली गर्नु र आरोप लगाउनु नौलो होइन । यतिमात्र होइन अड्डाअदालतमा मुद्दामामिलामा उत्रिनु पनि नौलो होइन ।
आफू अन्यायमा परे बोल्नुपर्छ । अड्डाअदालतको ढोका पनि ढकडक्याउनु पर्छ । अन्यायमा परेको व्यक्ति स्वयंमात्र होइन उसका पक्षमा अरुले पनि बोल्नुपर्छ । अन्यायविरुद्ध साथमा साथ र काँधमा काँध दिनुपर्छ ।
अन्यथा समाजमा बेथति मौलाउँछ, कुसाशन हावी हुन्छ । तर, नेपाली चलचित्र उद्योग त्यस्तो क्षेत्र हो जहाँ अरुलाई आरोप र आक्षेप लगाउन उसको केही गल्ती नै हुनुपर्दैन । उसले अरूको केही बिगार्दिनै पर्दैन ।
विनाकारण अर्कालाई आक्षेप लगाइन्छ, अर्काको नितान्त व्यक्तिगत कुरा गरिन्छ । अर्काको निजी बेडसम्मको कुरा गरिन्छ । त्यो पनि सावर्जनिक फोरमममा गएर । आशा र भरोसा नै नगरेका व्यक्तिले बोल्नु फरक पक्ष हो । तर जसलाई आम दर्शकले भरोसा गरेका छन् । सधैँ माया र साथ दिएका छन्, तिनै व्यक्तिले आफ्नो स्तर गुमाउँदै अर्काको निजी मामलामा बोल्नु सोभनीय पक्कै होइन । त्यो पनि करिअरको पिकमा रहेको व्यक्तिले अर्काको निजी मामलामा बोल्दा सोच्नु पर्दैन ? म कसका बारेमा के बोलिरहेको छु, मैले बोलेको कुराले के असर गर्छ, मैले जे कुरा बोल्न खोज्दैछु यसले स्वयं मलाई नै के असर गर्छ भनेर सोच्नु पर्दैन ?
कुनै पनि कार्यक्रममा प्रश्नकर्ताले आफ्नो मनमा लागेको कुरा सोध्न पाउँछ, त्यसमा पनि सेलिब्रिटीलाई उसका केही निजी र अरुका जिन्दगीका निजी कुराबारे पनि प्रश्न गर्न पाउँछ । तर सोधिएका प्रश्नको जवाफ दिनै पर्छ भन्ने हुँदैन । उसले जवाफ दिन आफू असमर्थ रहेको भन्दै जवाफ दिन नसकेकोमा क्षमा माग्न सक्छ । यसरी जवाफ नदिँदा उसको व्यक्तिव्व वा छवि गिर्दैन झन उकासिन्छ । उजेलिन्छ ।
तर, सञ्चारमाध्यम र पत्रकार स्वयंले पनि आफू र आफ्नो संस्थाको मर्यादा भने ख्याल गर्न सक्नुपर्छ । म कुन संस्था र कुन प्रकृतिको प्लेटफर्म प्रयोग गरिरहेको छु भन्ने हेक्का राख्नुपर्छ । होइन भने टेलिभिजन र युट्युबमा के फरक भयो ? यति, सामान्य भेद छुट्याउन नसक्नेलाई संस्थाले किन जिम्मेवारी दिने ? जिम्मेवारी नै त्यही दिएको भए छुट्टै होइन भने सम्बन्धित संस्था जिम्मेवारीको भागिदार हुन्छ कि हुँदैन ?
यसो गर्नु त परको कुरा अर्काको व्यक्तिगत कुरा त्यसमा पनि व्यक्ति स्वयंले कहिल्यै स्वीकार नगरेको र सार्वजनिक नगरेको विषयमा को पहिला भन्ने भन्दै उछिनापाछिन गर्दै बोल्दा त्यसले आफ्नै शाख गिराउँछ । सार्वजनिक छविमा ह्रास ल्याउँछ । जुन आज देखिरहेको छ ।
अर्काको हुर्मत लिँदा आफू के हुँ र मेरो विगत के हो, म कहाँ छु र मैले बोलेको कुराले के असर गर्छ भनेर सोच्नु पर्छ । यतिमात्र गर्न सकियो भने पनि बोलिमा कन्ट्रोल हुन्छ । अरुको ठाउँमा आफूलाई राख्न सकेमात्र पनि धेरै कुरा आफैँ फिल्टर हुन्छ ।
सचेत नागरिक र व्यक्ति त्यो जसले अर्काको इज्जत गर्छ । सम्मान त्यसले पाउँछ, जसले अरुको पनि इज्जत गर्छ । अर्थात् नेपालीमा एउटा उखान खुब चर्चित छ, ‘जस्तालाई तस्तै ढिँडालाई निस्तै’ । नेपालीमा यसको अर्थ लगाउन नसक्नेले पनि ‘टिट् फर ट्याट’ (जस्तालाई तस्तै) त बुझ्छन् नै ।
होला, प्रसंग अनुसार कार्यक्रममा सहभागी भएका नायिका द्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले ज–जसको नाम लिए उनीहरूको निजी जिन्दगीमा असर पुर्याउने कुत्सित मनासय थिएन होला ।
उनीहरूको भावनामा ठेस पुर्याउने चाहना पनि थिएन होला । तर, देश–विदेश घुमेका, विभिन्न कथामा काम गरेका, कामकै सिलसिलाम भिन्न परिवेश र क्षेत्रका मान्छेसँग घेटघाट गरेका र थोरबहुत जति छ अध्ययनको सिकाइ कहाँ कसरी ‘अप्लाई’ (प्रयोग) गर्ने भन्ने हेक्का भने राख्नुपर्छ ।