साम्राज्ञीको ओरालो लागेको फिल्मी करिअर कसले रोकिदिने ?
काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह गुडलुकिङ फेस भएकी नायिका हुन् । कोरियन लुक्स उनलाई नयाँ पुस्ताले मन पराउनुको अर्को कारण हो ।
डेब्यु मुभी ‘ड्रिम्स’बाट नै उनले सफलताको स्वाद चाखिन् । थुप्रै अवार्ड पाइन् । पहिलो सिनेमाबाटै उनको उच्च डिमान्ड सुरु भयो ।
तर, जब उनको माग बड्दै गयो । चलचित्रमा अभिनय गर्दै गइन् । उनका हातमा सफल सिनेमाको संख्या भने घट्दै जान थाले ।
कारण अनेका हुन सक्छन्, अभिनयमा निखारता ल्याउन आवश्यक प्रयास नगर्नु होला अथवा निर्देशकको टाइपकास्ट अर्को होला । एकै खालका सिनेमा, उस्तै चरित्र अनि उस्तै कथा उनको करिअर ओरालो लाग्नुको कारण बने ।
त्यसमा पनि भुवन केसीसँगको टसल अर्को कारण भएको अर्थ लगाउने पनि धेरै छन् । भुवन केसीसँग जब मुद्दामामिला सुरु भयो, साम्राज्ञीका सिनेमाको संख्या पनि कम भए । स्याल कराउनु र कुखुरो हराउनुजस्तै संयोग मात्रै भएको हो वा उनलाई अफर नै नआएको त्यो त उनैलाई थाहा होला । तर जे सुकै कारणले होस्, साम्राज्ञीका सिनेमाको संख्या भने कम भएकै हुन् ।
बजारमा सबैभन्दा धेरै पारिश्रमिक डिमान्ड गर्ने नायिका उनै हुन् भन्ने समाचार आउँछन् । मेकरहरूका अनुसार २० लाखसम्म उनले डिमान्ड गर्ने गरेकी छन् ।
डिमान्ड चर्को छ तर उनकै सिनेमा एकपछि अर्को लगातार ‘फ्ल्प’ भइरहेका छन् । यसको उदाहरण हेर्न धेरै अगाडि फर्किनै पर्दैन । पछिल्ला दुईवटा सिनेमा हेरे मात्रै पुग्छ । अघिल्लो वर्ष रिलिज भएको ‘ह्यारी कि प्यारी’ चलेन । यो वर्ष रिलिज भएको ‘लण्डन टु पेरिस’ पनि चलेन ।
यी दुवै सिनेमाको मुख्य भूमिकामा उनै थिइन् । सिनेमा उनकै काँधमा थियो । निर्माण पक्षले पनि उनकै फेसभ्यालु बिकाउन खोजेको थियो । तर बिकेन ।
त्यसो त साम्राज्ञी स्वयंले पनि आफू टाइपकास्ट भएको भन्दै फरक चरित्रमा काम गर्न मन लागेको तर त्यस्तो अफर नै नआउने गरेको बताएकी छन् । जसरी हुन्छ, करिअर सुरक्षित नगर्ने हो भने अब उनको ओरालो लागेको करिअरलाई कसैले रोक्न सक्ने छैन । त्यसैले करिअरलाई ओरालो बाटो हिँडाइरहने कि उकालो बाटो लगाउने उनकै हातमा छ ।
तर, करिअर सुरक्षित गर्ने हो भने अब ढिलो गर्न हुँदैन । होइन भने कमब्याक गर्न कठिन हुनेछ भन्ने उनलाई थाहै होला ।
‘लण्डन टु पेरिस’को एउटा प्रचार कार्यक्रममा उनले सँगै निर्देशक, निर्माता र लेखक रहेकै मञ्चबाट आफूलाई यो सिनेमाबाट कमब्याकको अपेक्षा नरहेको बताइन् । स्पष्टवक्ता हुनु त सकारात्मक पक्ष हो । तर कहाँ के बोल्ने थाहा चाहिँ हुनुपर्छ कि ?
होइन भने सिनेमा रिलिजको पूर्वसन्ध्यामा मञ्चमै गएर मलाई यो चलचित्रबाट अपेक्षा छैन भनेपछि मेकरको चित्त दुख्ला कि ? ठाउँ कु ठाउँ यसरी बोल्ने हो भने सिर्माताले आफ्नो सिनेमामा लिने नलिने भनेर सोच्न थाले भने साम्राज्ञीको ओरालो करिअर कसले रोकिदेला ?