‘सतीदेवी’ को रिलिज मिति पछि सर्यो

अभिनेत्री मलिका महतको शीर्ष भूमिका रहेको चलचित्र ‘सतीदेवी’ को रिलिज मिति पोस्टपोन्ड भएको छ।
निर्माताले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै चलचित्रको प्रदर्शन मिति एक महिना पछि सारिएको जानकारी दिएका छन्।
यो फिल्म यसअघि साउन ४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा थियो। ‘केही प्राविधिक कारणले गर्दा हामीले सो मितिमा नभइ पहिलाझै कुनै चलचित्र वा निर्मातालाई असर नगर्ने गरी सतीदेवी नयाँ मिति ०७ भदौंमा प्रदर्शन गर्ने निर्णय गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ।
सो मितिमा कुनै पनि स्वदेशी वा विदेशी चलचित्र नल्याउन वितरक, निर्मातामा अनुरोध समेत गरिएको छ। नयाँ प्रदर्शन मितिसँगै नयाँ पोस्टर समेत सार्वजनिक गरिएको छ।
लक्ष्मण सुवेदीको निर्माण एवं निर्देशन रहेको ‘सतीदेवी’ मा मलिकासहित हर्षिका वली, मञ्जिला बानियाँ (बाल कलाकार), सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलबहादुर अधिकारी, भोलाराज सापकोटा लगायत कलाकारको अभिनय छ।
नारीप्रधान यो फिल्मले यसअघि आयोजना गरिएका विशेष शोमा प्रशंसा पाएको छ भने विभिन्न फेस्टिभलमा अवार्ड समेत पाएको छ।
दिलाका क्रियसन प्रा.लीको ब्यानरमा बनेको फिल्मलाई रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन्।