दीपक, निश्चल र बिराज भिड्ने नै हुन् ?
काठमाडौं । दसैँमा रिलिज हुने चलचित्रको संख्या थपिदैछ । दीपकराज गिरी र निश्चल बस्नेतको चलचित्र दसैँमा आउने यसअघि नै पक्कापक्की भइसकेको थियो ।
तर, दसैँको लाइनअप भने टुगिएको छैन । आइतबार बिराज भट्टले आफ्नो चलचित्र ‘१२ गाउँ’ दसैँमा रिलिज गर्ने घोषणा गरे । फर्स्टलुक सार्वजनिक गर्दै उनले दसैँको अवसर पारेर चलचित्र रिलिज गर्ने घोषणा गरे । यो सिनेमालाई बिराज स्वयंले निर्देशन गरेका छन् ।
यो चलचित्रबाट नेपाली सिने नगरीमा बिराजले आफ्नो छोरा समीरलाई डेब्यु गराउँदैछन् । समीर यो सिनेमाका मुख्य कलाकार हुन् । एक्सन अवतारमा उनी देखिँदैछन् । उनको यो डेब्युलाई धेरैले चासोका साथ हेरेका छन् ।
सोमबार अर्का चलचित्र निर्माता अर्जुनकुमारले पनि दसैँमा सिनेमा निर्माणको घोषणा गरे । उनको सिनेमा ‘सानो संसार’ घटस्थापनाका दिन रिलिज हुनेछ । यो सिनेमालाई सिद्धार्थ पुडासैनीले निर्देशन गर्दैछन् ।
अझै कति निर्माताले सिनेमा दसैँको छेको पारेर रिलिज गर्ने हुन् थाहा छैन । तर, अझै थपिने सम्भावनालाई नकार्न भने सकिन्न । दसैँको लामो बिदालाई मध्यनजर गर्दै यो समय आफ्नो सिनेमा रिलिज गर्न निर्माताहरू लालायित हुने गरेका छन् ।
मिति तोके पनि कति चलचित्र दसैँमा रिलिज हुने हुन्, त्यो भने अहिले नै पक्का भइसकेको छैन । अहिलेसम्म दसैँमा रिलिज हुने भनेर मिति नै तोक्ने दीपकराज गिरी मात्रै हुन् । उनको चलचित्र ‘छक्का पञ्जा–५’ असोज २४ गते रिलिज हुनेछ ।
निश्चलले पनि ‘बेहुली फ्रम मेघौली’को प्रदर्शन मिति भने तोकिसकेका छैनन् । स्वस्तिमा र निश्चल निर्माता रहेको चलचित्रको कथा साजन काफ्ले र आकाश बरालको लेखेका हुन् । विवाहको कथा भन्ने चलचित्र निर्देशन पनि उनीहरू दुवैले गरेका छन् ।
‘छक्का पञ्जा–५’लाई भने दीपाश्री निरौलाले निर्देशन गर्नेछिन् ।
त्यसैले अहिले दसैँ भनेर पोस्टर सार्वजनिक गरे पनि अवथा सोही समयका लागि भनेर प्रचार गरे पनि केही चलचित्र भने अगाडि वा पछाडि सर्न सक्छन् । विगतले पनि यो पुष्टि गरेको छ ।
दुइवटासम्म चलचित्र एकै दिन आए धेरै हल भएकाले बिजनेसमा खासै ठूलो असर गर्दैन । तर त्योभन्दा धेरै आए भने बक्स अफिसमा प्रभाव पर्छ ।
दुई वा शोभन्दा धेरै चलचित्र आएको खण्डमा भने कुनै न कुनै चलचित्र ब्याक हुँनै पर्छ । ब्रान्ड बनाइसकेका राम्रो ब्यानरका चलचित्र पछि नहटे पनि सोलो रिलिज नै आवश्यक पर्ने सिनेमा भने पछि हट्नेछन् ।
‘छक्का पञ्जा’ आफैँमा ब्रान्ड बनिसकेकाले अरु जुध्न आए पनि उसलाई खासै असर नपर्ला । ‘छक्का पञ्जा–४’ पनि अनमोल केसीको ‘छड्के–२’सँगै रिदिज भएको थियो । तर यसले अनमोलको सिनेमालाई पछि पार्दै पहिलो दिनदेखि नै एकलौटी ब्यापार गरेको थियो ।
त्यसैले यो पटक अरु पछि नहटे पनि दसैँमा रिलिज हुँदा यो सिनेमाले खासै असर बेहोर्नु नपर्ला । तर, अन्य सिनेमालाई भने पक्कै पनि असर पर्नेछ ।
तुलनात्मक रुपमा निश्चल र बिराजको सिनेमालाई पनि कम असर पर्ला तर अन्य सिनेमाले पनि एकै दिन रिलिजको आर्थिक क्षति बेहोर्नु पर्छ नै ।
नयाँ वर्ष होस् वा दसैँ । लामो बिदामा चलचित्र भिड्दै आएका छन् । त्यसको असर बक्सअफिसमा प्रत्यक्ष देखिँदै पनि आएको छ । केही समय अगाडि मात्रै बुद्ध जयन्ती कै दिन ‘फर्की फर्की’ र ‘पुजार सार्की’ रिलिज हुँदा त्यसको असर बक्सअफिस कलेक्सनमा देखिएको थियो ।
चलचित्र विकास बोर्ड छ । चलचित्र संघ छ । चलचित्र कलाकार संघ छ । निर्माता संघ छ । निर्देशक समाज छ । तर पनि कसरी मिलेर जाने भन्नेमा ध्यान चाहिँ कसैको जाँदैन ।
वर्षमा ५० वटा सिनेमा रिलिज हुँदा एक हप्तामा एउटा मात्रै सिनेमा रिलिज हुँदा पनि सोलो रिलिजको मौका सबैलाई मिल्छ । तर, यसतर्फ ध्यान कसैको खिचिदैन । पहल कसैले गर्दैन । जसको मार निर्माताले भोग्दै आएका छन् ।