सिनेमा उद्योगकै हुर्मत लिने फेस्टिभल तत्काल बन्द गर

काठमाडौं । गत हप्ता ‘क्यानडा नेपाल माउन्टेन सिनेमा फेस्टिभल–२०२४’ आयोजना भयो । विराटनगरमा भएको उक्त फिल्म फेस्टिभल नेपाल चलचित्र निर्देशक समाजको प्रस्तुति र चलचित्रकर्मी महासंघ कोसी प्रदेशको आयोजनामा भएको थियो । फेस्टिभलमा फिचर, डकुमेन्ट्री, सर्ट मुभी गरी पाँच देशका २४ सिनेमा सहभागी थिए ।

फेस्टिभलमा जम्मा २४ वटा चलचित्र सहभागी ? त्यो पनि विभिन्न विधाका चलचित्रसहित ? इन्टरनेसनल फेस्टिभलमा जम्मा पाँच देशबाट मात्रै चलचित्र आए ।

इन्टरनेसनल फेस्टिभल भनेको विश्वभरका सिनेमाहरूको महोत्सव हो । तर यो फेस्टिभलमा न सनेमा विश्वभरबाट आए । न धेरै नै आए । त्यसो भए कसरी फेस्टिभल भयो ? यो त नाम मात्रै फेस्टिभल भएन र ? फेस्टिभल आयोजना गर्ने आयोजकको रहर मात्रै भएन र ?

यो त पछिल्लो फेस्टिभलको एउटा उदाहरण मात्र हो । धेरै फेस्टिभल करिब–करिब यस्तै हुन् । निफ र किम्फलाई छोड्ने हो भने प्रायः फेस्टिभलको अवस्था उस्तै उस्तै हो । यस्तै नै हो ।

फेस्टिभलको मर्म भनेको नै जेको फेस्टिभल हो, त्यो क्षेत्रका लागि उत्सव हो । फिल्म फेस्टिभल हो भने त्यो क्षेत्रका लागि त्यो उत्सव हुन सक्नुपर्छ । सिनेमा क्षेत्रका व्यक्तिले उत्सवका रुपमा मनाउन सक्नुपर्छ ।

कम्तीमा चार/पाँच दिन महोत्सव चल्नुपर्छ । थोरैमा ५०/६० देशका सयौँ सिनेमा देखाइनुपर्छ । देशविदेशका ठूलठूला चलचित्रकर्मीको जमघट हुनुपर्छ । उनीहरूका विभिन्न सेसन हुनुपर्छ । छलफल, अन्तरक्रिया र बहस हुनुपर्छ ।

अग्रज र अनुज पुस्ताका चलचित्रकर्मीको सहभागिता हुनुपर्छ । थुप्रै समसामयिक र नयाँ विषयका सेसन चल्नुपर्छ । त्यस्ता सेसनमा सहभागीहरूले सहभागिता जनाउँदा आफूले गौरवान्दित महसुस गर्नुपर्छ । केही नयाँ कुरा सिकेको र जानकारी पाएको महसुस गर्न सक्नुपर्छ ।

फेस्टिभलमा सहभागी सिनेमा हेरेर विश्वमा सिनेमाको ट्रेन्ड कस्तो छ भनेर चलचित्र हेर्नेले थाहा पाउनुपर्छ । ती सिनेमाका मेकरलाई फेस्टिभल आयोजकलाई बोलाएर सिनेमा बनाउँदाको अनुभव सुनाउन सक्नुपर्छ ।

फेस्टिभल भनेको सिनेमालाई विश्व बजारमा पुर्याउने माध्यम पनि हो । विश्वभरका चलचित्रकर्मी, निर्देशक, निर्माता र वितरकको जमघट हो ।

फेस्टिभलमा वितरक र प्रोडुसरका स्टल हुनुपर्छ । जहाँ निर्देशक र राइटरले आफ्नो स्क्रिप्ट पिच गर्ने प्लेटफर्म हुनुपर्छ । मन परेको कथामा विदेशी प्रोडुसरले लगानी गर्ने प्रतिबद्धता जनाउँछन् । राम्रो लागेको सिनेमा वितरकले (हल र ओटीटीमा) अन्तर्राष्ट्रिय बजारमा वितरणका लागि किन्ने वातावरण बन्नुपर्छ ।

इन्टरनेसनल फिल्म फेस्टिभलको अवधारणा नै यही हो । तर नेपालमा यस्ता फेस्टिभल छन् ? छैनन् । त्यसो भए यी नाम मात्रैका फेस्टिभल भएनन् ?

हारगुहार गरेर चारपाँचवटा सिनेमा निर्मातासँग माग्ने । निर्माताले दिन्न भनेपछि पहिलालै तिमीलाई यो–यो अवार्ड भनेर कबोल गर्ने । कबोल गरेअनुसारको अवार्ड दिने । अवार्ड पाउनेजति दुईचारजना कलाकार भेला हुने । त्यो पनि कतिले त बहिष्कार गर्छन् ।

यस्ता अवार्ड जसले फिल्म फेस्टिभल र अवार्डकै गरिमा मात्रै घटाइरहेका मात्रै छैनन्, हुर्मत नै लिइरहेका छन् । यस्ता फेस्टिभल र अवार्ड तत्काल बन्द गरे नै यसको गरिमा बच्ला, फेस्टिभल र अवार्डको इज्जत कायम रहला ।

जबसम्म यस्तै ‘गतिछाडा’ तरिकारले यस्ता अवार्ड र फेस्टिभल आयोजना भइरहनेछन्, तबसम्म यसको गरिमामा खिया लागिरहनेछ ।