karsang
Close Me

आइडल निश्चललाई कसैले नाइँ भन्नै सकेनन् !

काठमाडौं । निर्माणको चरणमा रहेको चलचित्र ‘बेहुली फ्रम मेघौली’को गत शुक्रबार थिम सङ रिलिज भयो । ‘बिहे गर्ने कि नगर्ने ?’ गीतको भिडियोमा नेपाली सिनेमा उद्योगका थुप्रै सुपरस्टार छन् । विशेषगरी अविवाहित कलाकार । सिनेमाका कलाकार निश्चल बस्नेत र स्वस्तिमा खड्काबाहेक भिडियोमा समावेश सबै कलाकार अविवाहित छन् ।

चलचित्रको प्रमोसनल गीतमा अभिनेता प्रदीप खड्का, नाजिर हुसेन, धिरज मगर तथा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, बेनिशा हमाल, शिल्पा मास्के र निर्देशक तथा कलाकार दीपाश्री निरौला फिचर्ड छन् ।

प्रोमोस्नल गीतमा रहेका स्वस्तिमा र निश्चलबाहेक अन्य कलाकार छैनन् । अर्थात् भिडियोमा रहेका अविवाहित कलाकार छैनन् । सिनेमामा नरहेका तर स्टार कलाकार प्रोमोस्नल गीतमा मात्रै देखिन कसरी तयार भए ? गीतको भिडियो हेरेपछि यो प्रश्न मनमा उठ्नु स्वभाविक हो ।

विवाहको कथा भन्ने सिनेमाको प्रमोस्नल गीत आम नागरिकले नोटिस गर्ने खालको चाहिएको थियो । स्वस्तिमाको दिमागमा विवाह नगरेका र विवाह कहिले गर्ने ? अब त बेला भएन र ? अब त ढिलो भएन र ? भन्ने प्रश्न झेलिरहेका कलाकारलाई समेटेर भिडियो बनाउने आइडिया फुर्यो । निश्चललाई पनि गज्जव लाग्यो ।

तर, सिनेमा बाहिरका कलाकारले प्रोमसनल सङका लागि मात्रै काम गरिदिएलान् ? यो प्रश्न उठ्यो होला सायद निश्चल र स्वस्तिमाको मनमा ।

तर, निश्चल तिनै निर्देशक तथा कलाकार हुन्, जो हम्मेसी कसैका आग्रहलाई नाइँ भन्न सक्दैनन् ? सिनेमामा सानो भूमिका होस् वा केमियो मात्रै । उनी अरुका सिनेमा काम गरिदिन्छन् ।

सिनेमाको क्यामेराभित्र मात्रै होइन उनी बाहिर पनि उत्तिकै सहयोगी छन् । कसैले गीतमा मात्रै नाचिदेऊ न भन्यो भने पनि नाइँ भन्न सक्दैनन् । मेरो सिनेमाका लागि गाइदेऊ मात्रै भन्यो भने पनि उनी पछि हटेर नाइँ भन्दैनन् ।

‘जात्रै जात्रा’ होस् वा ‘पर्व’ उनले मैले गर्दा अरुको सिनेमालाई राम्रो हुन्छ भने किन सहयोग नगरिदिने भनेर गीतको भिडियोमा देखिए । गीत गाइदिए । केही समय अगाडि रिलिज भएको ‘अगस्त्य च्याप्टर–१’ मा केमियो नै उनी राजी भए ।

कसैका सिनेमाको स्क्रिप्ट हेरेर फिड्ब्याक दिए । कसैको सिनेमा रिलिज अगाडि हेरेर सुझाव दिए । ती सुझाव कति काम लागे अथवा लागेनन् त्यो भिन्दै कुरा । ती सुझाव निर्माणपक्षले कति मनन् गरे अथवा गरेनन् त्यो थप महत्वपूर्ण पक्ष हो ।

जे होस्, जसरी होस् आफ्नो सानो उपस्थितिले कसैले आफ्नो चलचित्र राम्रो हुन्छ भन्ने ठानेर सहयोगको आग्रह गर्यो भने उनी नाइँ भन्दैनन् । सायद यसकै परिणाम हो– बेहुली फ्रम मेघौलीमा आधा दर्जन स्टार कलाकारको उपस्थिति ।

निश्चलको सहयोगी भावना र मन नेपाली सिने उद्योगका लागि एक आइडल हो । आदर्श हो । चाहेको खण्डमा मिलेर काम गर्न सकिन्छ भन्ने उदाहरण हो । यो सहयोगी मन र सहकार्यले निरन्तरता पाओस् । नेपाली सिनेमा उद्योगको खड्किलो चढोस् ।

चलचित्र असोज १७ गते अर्थात् घटस्थापनाको दिनबाट प्रदर्शनमा आउनेछ । चलचित्रमा मुख्य कलाकारमा निश्चल बस्नेत, स्वस्तिमा खड्का, विजय बराल, लोकेन्द्र लेखकलगायत छन् ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकीय सिनेमा हो ।

स्वस्तिमा खड्का र निश्चल बस्नेतको निर्माण रहेको सिनेमाको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का छन् । स्वस्तिमाले पहिलोपटक फिल्म निर्माणको अनुभव लिएकी हुन् ।

नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्राफी तथा जयन जे वाइवा र कुशल पोखरेलको संगीत रहेको छ ।