दोस्रो फिल्म ‘तथास्तु’ निर्माण गर्दै ‘डोरी’का निर्देशक अरुण लामा

काठमाडौं । ‘डोरी’का निर्देशक अरुण लामाले दोस्रो फिल्म ‘तथास्तु’निर्माण गर्ने भएका छन् । उनले एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन् ।
सार्वजनिक गरिएको पोस्टरमा फिल्मको छायांकन अर्को वर्ष अर्थात् २०८३ को सुरुवातमा हुने छ भने प्रदर्शन सन् २०२७ मा हुनेछ । जी. सेभेन प्रोडक्सन् प्राली’को प्रस्तुति रहने यो फिल्मका निर्देशक लामाले ‘तथास्तु’ केवल फिल्म नभई कर्म, भाग्य र आन्तरिक रूपान्तरणको कथा भएको बताए ।
उनका अनुसार फिल्मले आध्यात्मिक यात्रा, अन्तरद्वन्द्व र सामाजिक यथार्थबीचको द्वन्द्व प्रस्तुत गर्नेछ । साथै, ‘सिमुलेसन थ्योरी’ को पृष्ठभूमिमा दुई लोक — भगवान्को लोक र मानिसहरूको लोकबीचको कथा समेटिनेछ ।
फिल्मको सुटिङ पनि दुई चरणमा गरिने निर्देशक लामाले बताए । यसअघि निर्देशक लामाले फिल्म ‘डोरी’निर्माण गरेका थिए । जुन फिल्मले गतिलो व्यापार गर्न सकेन । अरुण लामाले आफ्नो डेब्यु फिल्म ‘डोरी’ प्रजातन्त्र समर्थक आन्दोलनको कारण दर्शकसम्म पुग्न नसकेको बताए । उनले थपे, ‘हलहरू सुनसान हुँदा फिल्मले अपेक्षित व्यावसायिक सफलता पाउन सकेन । तर जसले हेरे, प्रायः सबैले मन पराए ।’