फागुन १ मा आउने ‘लालीबजार’मा स्वस्तिमा

काठमाडौं । चलचित्र ‘जात्रा’ शृङ्खलाबाट दर्शकको मन जितेको निर्माण कम्पनी षट्कोण आर्टसले नयाँ सिनेमा ‘लालीबजार’ निर्माण गर्ने घोषणा गरेको छ ।
सोमबार अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहने चलचित्रको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति फागुन १ गते तोकिएको छ ।
पोस्टरमा स्वस्तिमा फरक अवतारमा प्रस्तुत भएकी छन् । उनी गर्भवती महिलाको रूपमा देखिएकी भए पनि उनको शृङ्गार, हाउभाउ र भाव–भंगीमा एक किसिमको आत्मविश्वास र द्वन्द्व झल्किएको छ । यसले उनको शारीरिक अवस्था र मनोभावना बीचको द्विविधालाई संकेत गर्छ ।
‘लालीबजार’ यम थापाको लेखन तथा निर्देशनमा बन्ने भएको छ भने रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेस खत्री निर्माता हुन् । कार्यकारी निर्मातामा निर्देशक प्रदीप भट्टराई रहेका छन् ।
स्वस्तिमा खड्काले यस चलचित्रमार्फत आफूलाई नयाँ ढंगले प्रस्तुत गर्ने बताएकी छन् । उनले भनिन्, ‘मेरा अघिल्ला फिल्मभन्दा फरक स्वस्तिमा दर्शकले देख्नुहुनेछ । पोस्टर आफैंमा धेरै कुरा बोलिरहेको छ । यो पात्रलाई जीवन्त बनाउन म निकै उत्साहित छु ।’
निर्माता बानियाँका अनुसार पटकथा खोजीकै क्रममा यम थापासँग सहकार्यको सुरुआत भएको हो । उनले भने, ‘राम्रो स्क्रिप्ट अन्योलमा नपरोस् भन्ने उद्देश्यले हामीले विभिन्न लेखक–निर्देशकसँग छलफल गरिरहेका थियौं । थापाको स्क्रिप्टले हामीलाई प्रभावित ग¥यो र निर्देशनको जिम्मा पनि उहाँलाई दिन प्रस्ताव राख्यौं ।’
यो चलचित्रको पोस्टर फोटोग्राफर केशव पाण्डेले खिचेका हुन् भने रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले डिजाइन तयार पारेको हो ।
‘लालीबजार’ यसअघि ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ निर्माण गरिसकेको षट्कोण आट्र्सको पाँचौँ एकल प्रस्तुति हो । कम्पनीले यसअघि ‘टल्कजङ्ग भर्सेस टुल्के’, ‘डाकिनी’, ‘सुपर मङ्क’ लगायत फिल्महरू अन्य व्यानरसँग सहकार्यमा बनाइसकेको छ ।
यो चलचित्रको छायाङ्कन आगामी दसैँपछि सुरु हुने जनाइएको छ । बाँकी कलाकार र कथा विवरण भने क्रमशः सार्वजनिक गरिने निर्माण पक्षले जानकारी दिएको छ ।