केदारले साइन गरे ‘जहाजैमा’

काठमाडौं । चलचित्र ‘जहाजैमा’मा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अनुबन्धित भएका छन् ।

निर्देशक कृषा चौंलागाईको निर्देशनमा बन्ने यो चलचित्रका लागि मुख्य भूमिकामा मंगलबार औपचारिक रूपमा कलाकार घिमिरेले सम्झौता गरेका हुन् ।

कृषा र केदारले पहिलो पटक सहकार्य गर्न लागेका हुन् । चलचित्र ‘माग्ने राजा’मा ६१ लाख लिएर सर्वाधिक महँगा कलाकार बनेका उनले ‘जहाजैमा’मा कति पारिश्रमिक लिएका छन् भन्ने चाहिँ खुलाइएको छैन ।

चलचित्रमा केदार अनुबन्धित भएपछि कृषाले भनिन्–‘केदारजी अहिलेको सर्वाधिक रुचाइएको कलाकार हुनुहुन्छ । हाम्रो फिल्ममा उहाँको निकै नै महत्त्वपूर्ण भूमिका छ । उहाँलाई हाम्रो चलचित्रमा भित्राउन पाउँदा निकै नै उत्साहित छौँ ।’

हाल प्रि–प्रोडक्सनको काम चलिरहेको यो चलचित्रमा मल्टिस्टारर कलाकारहरु रहने निर्माण टिमको भनाइ छ । अन्य कलाकारहरुसँग पनि कुराकानी अगाडि बढेको तर फाइनल नभई सकेको निर्माणपक्षले बताएको छ ।

चलचित्र ‘जहाजैमा’मा यसअघि जापानीज नायिका रुजेल इचिमिया फाइनल भइसकेकी छिन् । नेपाल, जापान र फिलिपिन्समा खिचिने यो चलचित्रले नेपाल, जापान र फिलिपिन्सको कथा भन्नेछ ।

यूएनए प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको चलचित्रको छायांकन भदौबाट सुरु हुनेछ भने सन् २०२६ मा रिलिज लक्ष्य राखिएको छ ।