म्युजिक भिडियोजस्तै दैनिकरुपमा चलचित्र निर्माण घोषणा

काठमाडौं । केही समयअघि दैनिक ठूलो संख्यामा म्युजिक भिडियो निर्माण र सार्वजनिक हुन्थे । संगीत बजारमा लोकप्रियता हासिल गर्ने होड, गायक/गायिकाको व्यस्तता र डिजिटल प्लेटफर्मको बढ्दो प्रभावका कारण दैनिक दर्जनौं म्युजिक भिडियो सार्वजनिक हुन्थे ।
एक समय थियो, बिहानै फेसबुक स्क्रोल गर्नासाथ ३–४ वटा म्युजिक भिडियोका पोस्टर, ‘मुहूर्त’ क्लिप, मेकिङ भिडियो र गायक÷गायिकाको फोटो देखिन्थ्यो । युट्युमा एकै दिन दर्जनौँ नयाँ म्युजिक भिडियो अपलोड हुन्थे । यो क्रम अहिले अलि पातलिएको छ ।
म्युजिक भिडियोमा देखिने त्यो दृश्य अहिले चलचित्रतर्फ सरेको छ । हरेक दिन चलचित्र निर्माणको खबर धमाधम आइरहेको छ । म्युजिक भिडियोको निर्माण दर घट्दो छ भने सिनेमा निर्माणको गतिले तीव्रता पाएको छ ।
चलचित्र विकास बोर्डको तथ्यांकअनुसार नेपाली चलचित्र निर्माणमा अघिल्लो वर्षको तुलनामा करिब ८५ प्रतिशतले वृद्धि भएको देखिन्छ । २०८२ सालको वैशाखमा मात्र १८ वटा चलचित्रले निर्माण अनुमति लिएका थिए । त्यसको एक महिनापछि जेठ महिनामा निर्माण अनुमति लिने चलचित्रको संख्या ३६ पुगेको छ ।
यसरी हेर्दा एक महिनाको अन्तरालमै चलचित्र निर्माणको चासो दोब्बरले बढेको देखिन्छ, जुन नेपाली सिने उद्योगमा निकै दुर्लभ दृश्य हो ।
जहाँ पहिले दैनिक म्यूजिक भिडियो निर्माणको घोषणा हुन्थ्यो, अहिले त्यसको स्थानमा चलचित्र निर्माण घोषणाले लिएको देखिन्छ । सामाजिक सञ्जाल, अनलाइन मिडिया तथा प्रिन्ट मिडियामा हरेक दिन कुनै न कुनै नयाँ फिल्मको पोस्टर, शुभमुहूर्त समारोह, कागजी सम्झौता वा कास्टिङ घोषणा भइरहेका छन् ।
अहिले त यस्तो ट्रेन्ड चलेको छ कि कलाकारहरूले एउटा चलचित्र साइन गरेको अर्को दिन अर्कै चलचित्र घोषणा गर्दैछन् । रमाइलो कुरा के छ भने, धेरै चलचित्र निर्माण घोषणा भइसके पनि कास्ट गोप्य राखिएको छ ।
सिनेमा निर्माण घोषणामा उछाल देखिँरहँदा सिनेमाहलहरूमा भने चलचित्र रिलिजको गति अलिकति सुस्त छ । विशेषतः असार महिनामा सधैँझैँ चलचित्र रिलिजमा निर्माताहरूको चासो कम देखिन्छ । वर्षाको मौसम, बाढीपहिरोको सम्भावना, दर्शकको उपस्थितिमा अनिश्चितता आदिका कारण यो समयमा नयाँ चलचित्र प्रदर्शन नगर्ने प्रवृत्ति रहेको छ ।
तर, यो सुस्तता रिलिजमा मात्र सीमित देखिन्छ, निर्माण पक्ष भने सक्रिय बन्दै गएको छ । चलचित्र विकास बोर्डमा दैनिकरुपमा नयाँ चलचित्र दर्ता भइरहेका छन् । केही चलचित्रले निर्माण अनुमति प्राप्त गरिसकेका छन् भने केही दर्ता प्रक्रियामा छन् ।
चलचित्र निर्माणको यो वृद्धिलाई नेपाली फिल्म उद्योगको लागि सकारात्मक संकेत मान्न सकिन्छ । तर, निर्माण मात्र होइन, गुणस्तर, प्रदर्शन र बजार व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण हुन्छ । दैनिकरुपमा निर्माणको घोषणा भइरहे पनि ती सबै फिल्मको गुणस्तर कस्तो हुन्छ भन्ने प्रश्न बहसको विषय हो ।
यदि, निर्माणसँगै कथा, प्रविधि र बजार रणनीतिमा पनि समानरुपमा लगानी गरियो भने नेपाली चलचित्रले भोलिका दिनमा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने सम्भावना देखिन्छ ।
गीतको भिडियो निर्माणको दैनिक ट्रेन्डको ठाउँ अहिले चलचित्रले लिएको छ । यो ट्रेन्डले नेपाली सिनेमा उद्योगमा नयाँ ऊर्जा र सम्भावना बोकेको छ । तर, यस उत्साहलाई दीर्घकालीन सफलता बनाउन गहिरो सोच, योजना र लगानी आवश्यक छ ।
चलचित्र दर्ता गर्नेको भिड छ, तर प्रश्न पनि साथ साथै उठिरहेको छ, यी सबै सिनेमा प्रदर्शनसम्म आइपुग्लान् ? वा घोषणामै सीमित हुन्छन् ?
अधिक संख्यामा सिनेमा निर्माण हुँदा बजार चलायमान हुन्छ, कलाकार र प्राविधिकले रोजगारी पाउँछन् । तर, चलचित्र राम्रो भएन भने बक्सअफिसमा त्यसको प्रभाव ठूलो देखिँदैन । त्यसैले संख्या होइन त्यसको गुणस्तर महत्वको विषय हो ।
ठूलो संख्यामा सिनेमा बनेर कमजोर चलचित्रको बजार लाग्नुभन्दा सानो संख्यामा गुणस्तरीय सिनेमा बने भने त्यसले बजार विस्तार र बक्सअफिसमा ठूलो महत्व राख्छ । त्यसैले मेकरले सिनेमा निर्माणको घोषणामा भन्दा पनि राम्रो सिनेमा निर्माणमा ध्यान दिने हो कि ?