महँगो रकम लिने कलाकारलाई शोभितको चुनौती– आफ्नै पारिश्रमिक उठाएर देखाऊ

काठमाडौं । नेपाली चलचित्र क्षेत्र अहिले यस्तो मोडमा पुगेको छ, जहाँ कथा, निर्देशन र सिनेम्याटिक कलाभन्दा पनि कसले कति पारिश्रमिक लियो ? भन्ने सवालले बजार कब्जा गरिरहेको छ ।

कलाकारको बढ्दो पारिश्रमिक र उनीहरूप्रतिको निर्माताको बढ्दो विश्वासले सिनेमा निर्माणको खर्च आकासिएको छ । यति धेरै रकम खर्चिँदा पनि चलचित्रले ‘पानी’ भन्न नसक्ने अवस्था आउन थालेको छ । यसको अर्थ कलाकारलाई रेकर्ड ब्रेकिङ पारिश्रमिक बुझाउँदैमा सिनेमा राम्रो हुँदैन भन्ने हो ।

तर, अझै पनि धेरै निर्माता चर्चित नाम अनुबन्ध गर्नुलाई नै आफ्नो उपलब्धि ठान्छन् । यस्ता सोचका कारण चलचित्र निर्माणको भविष्य झन् चुनौतीपूर्ण बन्न थालेको छ । केही निर्माताले त सिनेमा निर्माण नै गर्न नसकिने अवस्था सिर्जना भएको गुनासो गर्न थालेका छन् । कलाकार र प्राविधिकको चर्को शुल्कले सिनेमा बनाउने अवस्था नरहेको उनीहरुको गुनासो आउन थालेको छ ।

बिहीबार चलचित्र ‘पीआर’को टिजर सार्वजनिक कार्यक्रममा निर्देशक तथा निर्माता शोभित बस्नेतले कलाकारहरूको बढ्दो पारिश्रमिकप्रति आफ्नो असन्तुष्टि खुलस्त रूपमा व्यक्त गरे । उनले अहिलेका महँगा कलाकारहरूमाथि तीखो व्यंग्य प्रहार गरे ।

कार्यक्रममा बोल्दै बस्नेतले कलाकारले ५० देखि ६० लाख पारिश्रमिक माग्ने भए आफूले त्यो रकम तिर्न तयार रहेको बताए । तर, यसमा उनको एउटा सर्त छ, कलाकारले आफ्नो पारिश्रमिक आफैँ उठाउने जिम्मेवारी लिनुपर्छ ।

शोभितले भने, “५० देखि ६० लाख पारिश्रमिक लिने कलाकारले आफूले चाहेको निर्देशक, छायाँकार, प्राविधिक सबै ल्याओस् । पारिश्रमिक पनि जति मन लाग्छ, लिओस् । तर, उसले ग्यारेन्टी गरोस् कि आफ्नो पारिश्रमिक उठाउने जिम्मा उसैले लिन्छ । त्यसो गरेमा ‘पीआर’का निर्माता सहित म अर्को चलचित्र बनाउन अहिले नै तयार छौँ ।”

उनी नेपालमा अहिलेसम्म कुनै कलाकारले आफ्नो पारिश्रमिक उठाउन सक्ने स्थिति देखिएको छैन । चलचित्र सफल होस् या असफल निर्माता भने सधैँ जोखिममा पर्ने तथ्यतर्फ इशारा गर्दै उनले भने, “यदि, नेपाली फिल्म उद्योग जोगाउने हो भने पहिला निर्माता जोगाउनु जरुरी छ ।”

शोभितले हाल कलाकारहरूले बढाएको पारिश्रमिकले फिल्म उद्योगकै जग हल्लाउने चेतावनी दिए । “अहिले जसरी पारिश्रमिक बढाइएको छ, त्यसले भविष्यमा फिल्म क्षेत्रलाई ठूलो घाटा हुन्छ,” उनले भने, “कलाकार, निर्माता र निर्देशकबीच सन्तुलन हुनैपर्छ ।”

कार्यक्रममा उनले आफ्ना आलोचकहरूलाई समेत जवाफ फर्काए । उनले आफ्नो चार दशक लामो करियर स्मरण गर्दै भने, “मैले २०५२ सालदेखि निर्देशन सुरु गरेको हुँ । ५०, ६०, ७० को दशकमा धेरैले मलाई निर्देशक हो भन्ने विश्वास नै गरेनन् । तर, ती धेरै हराइसके म भने अझै पनि यही क्षेत्रमा छु ।”

बस्नेतले नेपाली सिने क्षेत्रबाट आफू कहिल्यै टाढा नहुने दोहोर्‍याए । “आजको दिनमा जो कोही नयाँ छन्, भोलि हराउन सक्छन् । तर, म यो क्षेत्रबाट कतै जान्न,” उनले भने ।

शोभित बस्नेतको यो अभिव्यक्तिले कलाकार, निर्माता र दर्शकमाझ नयाँ बहस जन्माएको छ । नेपाली फिल्म क्षेत्रको भविष्यबारे गम्भीर विमर्श चलिरहेका बेला उनको यस्तो धारणा थप चर्चाको विषय बन्ने देखिन्छ ।