सबैभन्दा धेरै ओपनिङ गर्ने सिनेमा कुन हो, कति कलेक्सन गरेको थियो ?

काठमाडौं । नेपाली चलचित्र उद्योगमा थुप्रै्र रेकर्डहरू छन् । ६ दशकभन्दा लामो इतिहास बोकेको सिने उद्योगमा थुप्रै रेकर्ड छन् ।

सबैभन्दा धेरै रेकर्ड ‘पूर्ण बहादुरको सारङ्गी’को नाममा छ । सबैभन्दा धेरै कमाउने चलचित्र भएकाले यसका नाममा तुलनात्मक रूपमा बढी रेकर्ड हुनु स्वभाविक हो ।

तर, ‘कबड्डी–४ : फाइनल म्याच’ले बनाएको एउटा रेकर्ड ‘पूर्ण बहादुरको सारङ्गी’ले पनि तोड्न सकेन । सर्वाधिक ओपनिङ कलेक्सन गर्ने चलचित्र ‘कबड्डी–४ : फाइनल म्याच’ हो ।

२०७९ जेठ १३ गते रिलिज भएको यो चलचित्रले पहिलो दिन गरेको कमाइलाई ओपनिङ विजनेसको रूपमा कसैले पनि उछिन्न सकेको छैन ।

२०७९ जेठ १३ गते रिलिज भएको यो चलचित्रले पहिलो दिन तीन करोडभन्दा माथि कलेक्सन गरेको थियो । यो भन्दा अघि र पछि हालसम्म रिलिज भएकै दिन यति धेरै रकम कुनै पनि सिनेमाले कलेक्सन गर्न सकेको छैन ।

यो सिनेमाले पहिलो दिनमा सर्वाधिक कमाउने ‘छक्का पन्जा ३’को नाम रहेको १ करोड ८० लाखको रेकर्ड तोडेको थियो ।

रामबाबु गुरुङले निर्देशन गरेको ‘कबड्डी–४ : फाइनल म्याच’ले रिलिज भएको १० दिनमा १७ करोडभन्दा माथि कलेक्सन गरेको थियो । यो सिनेमाले ‘छक्का पन्जा ३’ ले बनाएको १६ करोडको रकेर्ड तोडेर त्यो समय सबैभन्दा धेरै कमाउने चलचित्र बनेको थियो । यसको रेकर्ड पछि ‘पूर्ण बहादुरको सारङ्गी’ले तोड्यो ।

‘कबड्डी–४ : फाइनल म्याच’मा दयाहाङ राई, मिरुना मगर, सौगात मल्ल, विजय बराल, बुद्धि तामाङलगायत कलाकार मुख्य भूमिकामा थिए ।

यो सिनेमाले सर्वाधिक ओपनिङ गर्ने सिनेमाको रेकर्ड आफ्नो पोल्टामा पार्दा सबैभन्दा धेरै शो पाउने सिनेमा पनि बनेको थियो । तर, पछि शोको रेकर्ड भने क्रमशः ‘बेहुली फ्रम मेघौली’ र ‘पूर्ण बहादुरको सारङ्गी’ले तोडे । ‘बेहुली फ्रम मेघौली’ले ‘कबड्डी ४’को शोको रेकर्ड तोड्दा उसको रेकर्ड ‘पूर्ण बहादुरको सारङ्गी’ले तोड्यो ।

दिनकै सबैभन्दा धेरै कमाउने रेकर्ड भने ‘पूर्ण बहादुरको सारङ्गी’को नाममा छ । यो सिनेमाले एकै दिन ३ करोड ८९ लाख ग्रसकलेक्सन गरेको थियो ।