एलिना र समीक्षाले सिकाएको सबक

नेपालीमा एउटा उखान छ, ‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिण’ । यो आहानको अर्थ हो, कुनै पनि वस्तुको महत्व नबुझ्नु । अझ प्रष्टसँग भन्दा कू ठाउँमा प्रयोग गरेर दुरुपयोग गर्नु ।
कतिपय सन्दर्भमा सामाजिक सञ्जाल यस्तै भएको छ । सदुपयोग गर्दा सामाजिक सञ्जाल माथि उखानमा भनिएजस्तै श्रीखण्ड हो । तर, दुरुपयोग गर्दा यो खुर्पाको बिण ।
सामाजिक सञ्जालको प्रयोगले कतिपयको जिन्दगी नै कायापलट भएको छ । कतिको काम सहज भएको छ । कति भुइँमान्छे सामाजिक सञ्जालको प्रयोगकै कारण सेलिब्रिटी भएका छन् । सामान्य जीवनयापन समेत गर्न कठिन हुनेहरूको धनाढ्य भएका छन् ।
तर, ठिक विपरीत कतिपयको भने यही सामाजिक सञ्जालकै कारण घरबार विहीन भएका छन् । कतिपयको परिवार तितरवितर भएको छ । सामाजिक सञ्जालको दुरुपयोग कै कारण घर न घाटको हुन पुगेका छन् । सामाजिक सञ्जालको प्लेटफर्म दुरुपयोग गर्दै कति गालीगलौजमा उत्रिँदा त्यसको परिणाम कति पीडित भइरहेका छन् भने कति पीडक अपराधी करार भएका छन् । र, कानुनको कठघरामा उभिएका छन् ।
पछिल्लो उदाहरण नै हेर्ने हो भने गायिका समीक्षा अधिकारी र एलिना चौहानलाई लिन सकिन्छ । उनीहरूको व्यक्तिगत जीवनका बारेमा अनावश्यक टिकाटिप्पणी गर्नेको भीड देखियो । जसका कारण उनीहरू पीडित बने ।
अन्ततः उनीहरूले एउटा अभियान नै चलाए । जसले अनावश्यक गालीगलौज गर्छन्, तिनीहरूको फेसबुक प्रोफाइल आफ्नै फेसबुक पेजबाट सार्वजनिक गर्ने । जब उनीहरूले यो अभियान सुरु गरे । केहीले माफी मागे । अहिले उनीहरूको फेसबुक पोस्टमा गएर हेर्ने हो भने ८० प्रतिशतसम्म कमेन्ट कम भएको देखिन्छ । पोजेटिभ कमेन्ट गर्नेहरू मात्रै भेटिन्छन् ।
आफ्नो निजी मामलामा प्रवेश गरेर गालीगलौज गर्ने र अभद्र कमेन्ट गर्नेहरू यति गर्दा पनि नसच्चिए कानुनी उपचार खोज्न बाध्य हुने एलिनाले बताएकी छन् ।
कतिपय व्यक्ति यही सामाजिक सञ्जालको प्रयोगकै कारण फलिफाप भएर बसेका छन् । कति भने यसकै प्रयोगले अब आलापबिलाप गर्नुपर्ने अवस्था आएको छ । यसले कुनै पनि कुराको दुरुपोग होइन सदुपयोगले माथि उठाउँछ, दुरुपयोगले त सखाप बनाउँछ भन्ने प्रष्ट पार्छ ।
नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार, देशभित्रका साइबर अपराधमध्येका ९५ प्रतिशत घटना सामाजिक सञ्जालसँग सम्बन्धित हुने गरेका छन् । फेसबुक, टिकटक, इन्स्टाग्राम, आदिमा ‘भाइरल’ बन्ने प्रवृत्ति बढेपछि विभिन्न दुर्घटना र मनोसामाजिक समस्या पनि निम्तिएका छन् । इन्टरनेटबाट हुने वित्तीय अपराध पनि बढ्दै छ । अधिकांश बैंकिङ ठगीका घटना सामाजिक सञ्जालबाटै हुने गरेका छन् ।
सामाजिक सञ्जाललाई आपराधिक क्रिडास्थल बनाउने प्रवृत्ति जति बढ्दैछ, त्यति नै कानुनी फन्दामा पर्नेको संख्या पनि उच्च हुँदैछ । त्यसैले सामाजिक सञ्जाललाई आफ्नो फ्रस्टेसन पोख्ने माध्यम बनाउने, आपराधिक क्रियाकलापको माध्यम बनाउने भन्दा पनि यसको सदुपयोग गर्नेतर्फ लागौँ ।