दोस्रो पटक सहकार्य गर्दै कृषा र सौगात

काठमाडौं । अभिनेता सौगात मल्ल नयाँ चलचित्र ‘जहाजैमा’मा अनुबन्धित भएका छन् ।
कृषा चौलागाईंको निर्देशनमा बन्ने चलचित्रमा यसअघि कलाकार केदार घिमिरे ‘माग्नेबुढा’ र जापानी अभिनेत्री रुजेल इचिमियाको अनुबन्धित भएका छन् ।
निर्माण टिमले सौगातसँग औपचारिक रुपमा कागजी सम्झौता गरिसकेको छ । यो चलचित्रमा उनको भूमिका कस्तो रहने हो भन्ने खुलाइएको छैन ।
सौगातको भूमिका अहिले गोप्य राखिएको भए पनि उनी यस भूमिकाबाट निकै प्रभावित भएको बताइएको छ ।
साथै, यस चलचित्रमा अन्य केही चर्चित कलाकारहरु पनि रहने निर्माण पक्षले जानकारी दिएको छ ।
गत चैत्र २९ मा प्रदर्शन भएको चलचित्र ‘पिताम्बर’मा सहकार्य गरेपछि निर्देशक चौलागाईं र अभिनेता मल्ल पुनः एकपटक ‘जहाजैमा’मा सहकार्य गर्न लागेका हुन् ।
उज्ज्वल गुराँगाइले निर्माण गर्ने यो चलचित्र जापान, नेपाल र फिलिपिन्समा छायांकन हुने बताइएको छ । हाल प्रि–प्रोडक्सनको काम रहेको चलचित्र भदौदेखि फ्लोरमा जाने तयारीमा छ ।
चलचित्रको डीओपी पुरुषोत्तम प्रधान रहनेछन् ।