अभिनेत्री नीता ढुंगाना निर्देशनमा डेब्यु गर्दै, चलचित्रको प्रदर्शन मिति समेत घोषणा

काठमाडौं । अभिनेत्री नीता ढुंगानाले अब निर्देशनमा पनि पाइला टेक्ने भएकी छन् । गत वर्ष चलचित्र ‘ह्रस्व दीर्घ’ मा लगानी गरेकी उनले यो वर्ष आफ्नै निर्देशनमा सिनेमा बनाउन लागेकी हुन् ।

नीताले निर्देशन गर्न लागेको चलचित्रको नाम ‘सुख-दुःख’ राखिएको छ । शनिबार थिम पोस्टर सार्वजनिकसँगै उनले निर्देशनमा डेब्यु गर्ने औपचारिक घोषणा गरेकी हुन् ।

स्व. निर्देशक शिव रेग्मीले यही नाममा ‘सुख दुःख’ निर्देशन गरिसकेका थिए ।

रेग्मी निर्देशित त्यही चलचित्रको नाम सापटी लिएर नीताले आफ्नो डेब्यू निर्देशन अघि बढाउन लागेकी हुन् ।

चलचित्रको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । नीताले ‘सुख-दुःख’लाई आउँदो वर्षको दशैंमा अर्थात् वि.सं. २०८३ को दशैंमा रिलिज गर्ने बताएकी छन् ।

यो चलचित्र ‘नीता फिल्म्स’को ब्यानरमा निर्माण हुनेछ । अहिले स्क्रिप्ट लेखनको काम भइरहेको निर्माण पक्षले जनाएको छ ।कलाकार चयनको प्रक्रिया भने अझै गोप्य राखिएको छ ।

यसअघि भदौ महिनामा अर्को नयाँ सिनेमाको तयारी गरिरहेकी नीताले उक्त प्रोजेक्टपछि निर्देशनमा पूर्णरूपमा सक्रिय हुने बुझिएको छ ।

अभिनयमा अनुभव बटुलेकी नीता अब निर्देशनमा आफूलाई स्थापित गर्न चाहन्छिन् । चलचित्रको कथा, प्रस्तुति र निर्देशनमार्फत आफूले दर्शकलाई फरक अनुभूति दिने विश्वास उनको छ ।

अभिनयमा सफल भइसकेकी नीताले निर्देशनमा पनि सफलता दोहोर्याउन सक्छिन् कि भन्ने प्रश्न अहिले सिने वृत्तमा चर्चाको विषय बनेको छ ।