‘सिटामोल’को टिजरले देखाएको संकेत…

काठमाडौं । चलचित्र ‘सिटामोल’को टिजर सार्वजनिक भएको छ । निर्मापक्षले आज सार्वजनिक गरेको टिजरले सिनेमाको कथा प्रष्ट पार्ने प्रयास गरेको छ ।

टिजरमा सपना, खुसी, दुर्घटना, बेमेल र त्यसको असर समेटिएको छ । हैसियत भन्दा ठूलो सपना देख्ने श्रीमती र शारीरिक अशक्तताका कारण चौघेरामा सीमित श्रीमानको कथा छ ।

परिवारको एक सदस्य शारीरिक अशक्त भएपछि कसरी परिवार छिन्नभिन्न हुन्छ भन्ने कथा सिनेमाले भन्ने संकेत गरेको छ । सँगै आर्थिक अभावले थिलथिलो भएको परिवारको जर्जरता देखाउने प्रयास सिनेमाले गर्ने टिजरले संकेत गरेको छ ।

श्रीमान अशक्त भएपछि गाउँलेले उसकी श्रीमतीमाथि लगाउन कुदृष्टि पनि टिजरमा छ ।

टिजरमा सिनेमाका मुख्य दुई कलाकार सौगात मल्ल, बेनिशा हमाल र लोकेन्द्र लेखक छन् ।

राज बहादुर सानेको निर्देशनमा निर्माण भएको सिनेमा ‘सिटामोल’ साउन २३ गतेबाट प्रदर्शनमा आउँदै छ । चलचित्रमा सौगात र बेनिशासँगै श्री कृष्ण, जानुका र करणसहित लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।

‘सिटामोल’ मार्फत् निर्माता तथा निर्देशकले बिम्बात्मक नेपाल र आम नेपालीको जनजीवन र परापुर्वकालदेखि नेपाली समाजमा जरा गाड्दै आएको कुसंस्कारलाई चिरफार गर्न खोजेको बताएका छन् । सिनेमाले त्यही समस्याको उठानसहित दर्शकको मन जित्ने सिनेमा निर्माण गरेको भनाई निर्देशक तथा निर्माताको रहेको छ ।

तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् ।

सिमोस सुनुवारको प्रस्तुति रहेको सिनेमामा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह–निर्मातामा छन् ।

बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, साउन्ड डिजाइनर मुकेश शाह, द्धन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेको सिनेमालाई दिव्य सुवेदीले खिचेका हुन् ।