विजय बरालले ‘मालती मंगले’को क्यारेक्टर तीन महिना लगाएर निर्माण गर्ने

काठमाडौं । विजय बराजल पछिल्लो समयका व्यस्त सिने कलाकारमध्येका एक हुन् । व्यस्त त उनी पहिला पनि थिए । तर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ ब्लकबस्टर भएपछि उनी लिड रोलमै व्यस्त छन् । त्यसअघि उनी सहायक रोलमा व्यस्त हुन्थे ।
फेरि उनले नयाँ चलचित्र ‘मालती मंगले’मा लिड रोलका लागि अनुबन्धित भएका छन् । विजय गज्जवका क्यारेक्ट आर्टिस्ट हुन् । उनी नेगेटिभ रोलमा होस् वा पोजेटिभ रोलमा मन छुने चरित्र निर्माण गर्छन् र त्यसलाई निभाउँछन् ।
‘मालती मंगले’मा अझ विशेष क्यारेक्टरमा उनी देखिनेछन् । यसका लागि उनले तीन महिना तयारी गर्ने भएका छन् । ‘मालती मंगले’को क्यारेक्टर निर्माणका लागि मात्रै उनले तीन महिना खर्चिनेछन् ।
यो तीन महिना उनले कुनै पनि सिनेमामा काम गर्ने छैनन् । छोटो समयमै चरित्र निर्माण गरेर आफूलाई प्रमाणित गरिसकेका उनले ‘मालती मंगले’मा गर्ने मेहनत र क्यारेक्टर कस्तो हुनेछ, यो थप कौतुहलताको विषय बनेको छ ।
‘पूर्ण बहादुरको सारङ्गी’ विजयले ६० वर्षमाथिको वृद्धको क्यारेक्टरमा गज्जवको अभिनय गरेका थिए । उक्त चलचित्रमा उनको अभिनयको खुलेर तारिफ भएको थियो । यही सिनेमापछि उनले एकपछि अर्को मुख्य क्यारेक्टरमा काम गर्ने मौका पाइरहेका छन् ।
गायक रामकृष्ण ढकाल निर्माता रहेको चलचित्र ‘मालती मंगले’मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भइसकेका छन् ।
यो चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गर्नेछन् । चलचित्रको पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका छन् । कथा निर्देशक पाण्डेयले नै लेखेका हुन् । यस चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने छायाङ्कन निर्देशक महेश पौडेल रहेका छन् ।
चलचित्रको छायांकन भदौको पहिलो हप्तादेखि करिब ४० दिनको तालिकासहित सुरु हुने कार्यकारी निर्माता ज्ञवालीले बताए । साथै उनले ‘मालती मंगले’ यसै वर्षको अन्त्यतिर प्रदर्शनमा आउने तयारीमा रहेको जनाए ।
यो चलचित्रको निर्माता गायक रामकृष्ण ढकाल हुन् ।