चलचित्र ‘यानी माया’को मुख्य भूमिकामा अञ्जना पुन

काठमाडौं । चलचित्र ‘यानी माया’मा अञ्जना पुनले मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी छिन् । विगत एक दशकदेखि मोडलिङ क्षेत्रमा सक्रिय अञ्जनाले यसै चलचित्रबाट डेब्यु गर्नेछिन् ।

यो चलचित्र अभिनेता पल शाहले आफ्नो ब्यानर ‘पल शाह फिल्म्स’मार्फत निर्माण गर्न लागेको पहिलो प्रोजेक्ट हो ।

अञ्जना पुन एक स्थापित मोडेल हुन् । विकास सुवेदीको लेखन तथा निर्देशन रहने यो चलचित्र दार्शनिक मेटामोडर्न सिनेमा र पारिवारिक ड्रामाको संयोजन हुनेछ ।

यसमा अन्तरपुस्ता द्वन्द्व, आधुनिकता र परम्पराको दोलन, सहरी जीवन र प्रकृतिको संघर्ष जस्ता विषयहरूलाई समेटिनेछ । यो चलचित्र श्रावण महिनामा छायांकनमा जानेछ, जसका लागि बागलुङको ढोरपाटन र हङकङका रमणीय दृश्यहरू छनोट गरिएका छन् ।

पल शाहको लागि यो चलचित्र निर्माण क्षेत्रमा उनको पहिलो कदम हो । विकास सुवेदीका लागि पनि लेखकबाट निर्देशक बनेको यो पहिलो प्रयास हो ।

यस चलचित्रका निर्माताहरूमा पल शाहसँगै चन्द्रज्योति आले पनि रहेकी छिन् ।