अन्तत: परेश रावल ‘हेराफेरी-३’मा फर्किए

काठमाडाैं । चर्चित कमेडी फ्रेन्चाइज चलचित्र ‘हेराफेरी’को तेस्रो भागमा अभिनेता परेश रावल पुनः फर्किने भएका छन् । केही समयअघि फिल्मबाट बाहिरिएको घोषणा गरेका रावलले अब भने आफू फिल्ममा पुनः संलग्न हुने बताएका हुन् ।

रावलले रचनात्मक मतभेदका कारण ‘हेराफेरी ३’ छाडेका थिए, जसले फ्यानहरूलाई निराश बनाएको थियो । तर हिमांशु मेहताको पोडकास्टमा कुरा गर्दै अब विवाद अन्त्य भएको बताएका छन् ।

उनले भने, “दर्शकप्रति हाम्रो दायित्व हुन्छ । जब मानिसहरूले तपाईंलाई मन पराउँछन्, तपाईंले त्यो जिम्मेवारी हल्का रूपमा लिनु हुँदैन । मिहिनेत गर्नुपर्छ र उनीहरूलाई राम्रो दिनुपर्छ । त्यसैले सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्छ भन्ने मेरो सोच हो ।”

पोडकास्टमा उनलाई पुनः फिल्ममा देखिने हो कि होइन भनेर सोधिएको थियो । जवाफमा उनले अक्षय कुमार, सुनील शेट्टी र निर्देशक प्रियदर्शनजस्ता पुराना सहकर्मीहरूसँग मिलेर काम गर्न उत्साहित भएको जनाए ।

यद्यपि, केही महिना अघि रावलले मिडियामार्फत ‘हेराफेरी ३’ नगर्ने घोषणा गरेका थिए । यसले निर्माण पक्षलाई अचम्ममा पारेको थियो । निर्माण कम्पनीले उनलाई कानुनी नोटिससमेत पठाएको थियो । अक्षय कुमारका वकिल पूजा टिड्केका अनुसार फिल्ममा ठुलो लगानी भइसकेकोले कानुनी प्रक्रिया अघि बढाउन सकिने अवस्था आएको थियो ।

विवाद चुलिएपछि परेश रावलले साइनिङ रकम ११ लाख रुपैयाँ ५ प्रतिशत ब्याजसहित फिर्ता गरेका थिए । तर अहिले सबै पक्षबीच समझदारी बनेको र उनले फिल्ममा पुनः काम गर्ने पक्का भएको हो । यससँगै ‘हेराफेरी’का फ्यानहरूका लागि खुसीको खबर आएको छ, किनभने पुरानै टिमको पुनर्मिलनले फिल्मप्रतिको उत्साह झनै बढाएको छ ।