‘माग्ने राजा’को टिजरमा श्रीपेच लगाएर हिँडिरहेका केदार

काठमाडौं । केदार घिमिरे (माग्ने बुढा) मुख्य भूमिकामा रहेको चलचित्र ‘माग्ने राजा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले आज टिजर सार्वजनिक गरेको हो ।

टिजरमा केदार घिमरेको एकछत्र राज छ । कमेडी डाइलगमा केदारलाई प्रस्तुत गरिएको छ । श्रीपेच लगाएर हिँडिरहेका उनी विभिन्न गेटअपमा देखिएका छन् । पैसाको बलमा आफूलाई राजा ठान्ने केदारको कथा टिजरमा छ ।

सिनेमा पूरै कमेडी जनरामा रहेको टिजरले देखाएको छ । टिजरमा केदारसँगै वर्षा शिवाकोटी, विल्सनविक्रम राई, शिशिर वाङदेल, निर्देशक ऋषि लामिछाने पनि देखिएका छन् ।

केदार, वर्षा, शिशिरसँगै आर्यन सिग्देल, मिस पविलगायतको मुख्य भूमिका रहेको चलचित्र चलचित्र ‘माग्ने राजा’ भदौ ६ गते रिलिज हुँदैछ । ‘माग्ने राजा’लाई ऋषि लामिछानेले निर्देशन गरेका छन् ।

पटकथा सामीप्यराज तिमल्सेनाले लेखेका छन् । आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको छायांकन नरेन्द्र मैनालीले गरेका छन् । चलचित्रमा मुनाल घिमिरेको लगानी छ । चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्दै छ ।