नेपालमा बनेको पहिलो चलचित्र ‘आमा’को पोस्टर हुलाक टिकटमा

काठमाडौं । नेपालमा बनेको पहिलो चलचित्र ‘आमा’को पोस्टर अब हुलाक टिकटमा देख्न सकिने भएको छ ।
चलचित्र विकास बोर्डको २५ औँ स्थापना दिवसको अवसर पारेर यो निर्णय गरिएको हो । हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरिएको छ । आमा चलचित्रको पोस्टर अंकित १० रुपैयाँको हुलाक टिकट बजारमा पाइने भएको छ ।
उक्त अवसरमा चलचित्र आमाकी अभिनेत्री भुवन चन्द, चैत्य देवी, बसुन्धरा भुसाल, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ, बोर्ड अध्यक्ष दिनेश डिसी, हुलाक सेवा विभाग महानिर्देशक मनमाया भट्टराई पंगेनीले टिकेट अनावरण गरे ।
उक्त आमा चलचित्रका नायक तथा नायिकाको तस्विर अंकित टिकटले चलचित्रको महत्वलाई दर्शाएको कार्यक्रममा बताइएको छ । नेपाली चलचित्रको प्रवद्र्धनका लागि १० को दरको टिकट प्रकाशनमा ल्याएको विभागले बताएको छ ।
हुलाक सेवा विभाग महानिर्देशक मनमाया भट्टराई पंगेनीले भने, “आज चलचित्रको इतिहासमा पहिलो पटक हुलाक टिकेटमा प्रथम चलचित्रको अभिनेता र अभिनेत्रीको तस्बिर अंकित १० दरका टिकेट ल्याएका छौँ । टिकटले इतिहासलाई आधिकारिता दिन्छ,” उनले भनिन्, “आमाको इतिहास अब नेपालसँगै संसारमा पुग्नेमा विश्वस्त छु । म पनि संगीतकर्मी हुँ, गीत लेख्छु र गाउँछु । त्यसैले मेरो लागि पनि आजको क्षण निकै महत्वपूर्ण छ ।”
सञ्चार मन्त्री गुरुङले भने, “चलचित्रको ६० वर्षको गौरवमय इतिहास बोकेको अवसरमा हामीले चलचित्र आमाको प्रदर्शनको मितिलाई ध्यानमा राख्दै असोज १५ गतेलाई २०८२ असार १३ गतेको मन्त्री परिषद्को निर्णय अनुसार चलचित्र दिवस घोषणा गरेका छौँ ।”