इटालीको फिल्म फेस्टिभलमा उत्कृष्ट ड्रामा र अभिनेत्री चलचित्र ‘आँखा’लाई

काठमाडौं । नेपाली चलचित्र ‘आँखा’ (Crawling Crows) इटालीको प्रतिष्ठित फिल्म फेस्टिभलमा दुई विधामा उत्कृष्ट बनेको छ । हरेक वर्ष हुँदै आएको ‘अन्तर्राष्ट्रिय पोलिस अवार्ड आर्ट फिल्म फेस्टिभल’को २९ औं संस्करणमा यो फिल्मले उत्कृष्ट ड्रामा र उत्कृष्ट अभिनेत्रीतर्फको दुई अवार्ड आफ्नो पक्षमा पारेको हो ।
उत्कृष्ट अभिनेत्री विधामा अभिनेत्री स्मिता लामिछाने छनोट भएकी छिन् । नेपालमा सार्वजनिक प्रदर्शनमा आउँदा लामिछानेले निभाएको भूमिकाले प्रशंसा पाएको थियो । फिल्मतर्फ ‘आँखा’ले ‘निफ’मा पनि उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो ।
नेपालमा सार्वजनिक प्रदर्शनको समयमा आएको प्राकृतिक प्रकोपले प्रभावित पार्दा फिल्मले अपेक्षाकृत विजनेस भने गर्न सकेको थिएन । ‘आँखा’मा विजय बराल, स्मिता लामिछाने, निशा अधिकारी, वुद्धि तामाङ, आर के मेहता, पशुपति राई लगायतका कलाकारहरूको अभिनय समेटिएको छ ।
फिल्ममा कलाकारको अभिनय कला र निर्देशक जोन योन्जनले कलात्मक शैलीमा समेटेको सामाजिक यथार्थ, मानवीय मनोविज्ञान र संवेदनशील पक्षलाई समिक्षकहरूले तारिफ गरेका थिए ।
‘यो केवल हाम्रो टिमको मात्र नभई सम्पूर्ण नेपाली सिने क्षेत्रमा लागेका सर्जकहरूको सफलता हो, अवार्डको आधिकारिक पत्र प्राप्त गरेपछि निर्देशक योन्जनले भने, ‘नेपाली कथा, अभिनय र सिर्जनाको अन्तर्राष्ट्रिय स्तरमा कदर हुनु गौरवको कुरा हो ।’ यो अवार्ड वितरण कार्यक्रम भने आगामी सेप्टेम्बरमा आयोजना हुँदैछ ।