गायिकाद्वय एलिना र समीक्षाले किन भेटे गृहमन्त्रीलाई ?

काठमाडौं । गायिका एलिना चौहान र समीक्षा अधिकारीले गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन् ।

पछिल्लो समय सामाजिक सञ्जालमार्फत निरन्तर अभद्र व्यवहार र साइबर हिंसाको शिकार बनिरहेका गायिकाद्वयले मंगलवार गृह मन्त्रालय पुगेर मन्त्री लेखकलाई भेट गरेका हुन् ।

गृहमन्त्री लेखकसँगको भेटमा गायिकाहरूले साइबर अपराध विरुद्ध कडा कारबाहीको माग गरेका छन् ।

दुवै गायिकाले गृहमन्त्रीलाई आफूहरूले भोगिरहेको मानसिक पीडा र सामाजिक सञ्जालमा भइरहेको चरित्र हत्या, गालीगलौज तथा अश्लील टिप्पणीहरूबारे जानकारी गराउँदै न्यायको माग गरेका हुन् ।

“सामाजिक सञ्जाल स्वतन्त्रताको माध्यम हो, तर त्यो स्वतन्त्रता अरूको सम्मान र अस्तित्वमाथि प्रहार गर्न दिइनु हुँदैन,” गायिकाद्वयले गृहमन्त्री लेखकसँगको भेटमा भनेका छन् ।

उनीहरूले सामाजिक सञ्जालमा अश्लील गालीगलौज र निरन्तर अनलाइन दुव्र्यवहार गरिरहेका प्रयोगकर्ताहरूविरुद्ध कडा कानुनी कदम चाल्न आग्रह गरेका छन् ।

सोही सन्दर्भमा गायिका चौहानले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै लेखेकी छिन्, “म यहाँसम्म तपाईंहरूको माया र साथले आइपुगेकी हुँ । तपाईंहरूको समर्थन नै मेरो आत्मबल हो । तर जब कुराहरू व्यक्तिगत जीवनमा असर पुर्‍याउने तहमा पुग्छन्, त्यो सह्य हुँदैन ।”

उनले अगाडि लेखेकी छिन्, “यस्ता कृत्य गर्नेहरू मेरो फ्यान होइनन्, ती त मेरो मन दुखाउन खोज्ने मात्र हुन् । त्यसैले आत्मसम्मानको रक्षाका लागि कानुनी प्रक्रिया अघि बढाएकी छु । यो कदम कुनै रिस वा प्रतिशोधबाट होइन, आफ्नै अस्तित्व जोगाउने अधिकारका लागि हो ।”

यसैबीच चौहानले नेपाल प्रहरीको साइबर ब्युरोमा ४ जना व्यक्तिविरुद्ध उजुरी दिइसकेको र उनीहरूलाई छिटोभन्दा छिटो कारबाही गर्न मागसमेत गरेकी छिन् ।