पाठ्यक्रम विकास केन्द्रले भन्यो– ‘यो मन त मेरो नेपाली हो’ बालबालिकालाई देखाउन उपयुक्त छ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले चलचित्र ‘यो मन त मेरो नेपाली हो’ विद्यालयस्तरका बालबालिकाहरूलाई देखाउन उपयुक्त रहेको बताएको छ । केन्द्रका निर्देशक विजयराज बढुले चलचित्रका निर्मातालाई पठाएको शुभकामना सन्देशमा सिनेमाले बालबालिकाहरूलाई आफ्नो भाषा र संस्कृतिप्रति उच्च सम्मान महसुस गराउने उल्लेख छ ।
शुभकामना पत्रमा भनिएको छ, “भविष्यका कर्णाधार आजका बालबालिकाहरूलाई आफ्नो भाषा र संस्कृतिप्रति गर्व गर्न तथा नेपाली हुनुमा उच्च सम्मान महसुस गराउने भएकाले विशेषतः विद्यालयस्तरका बालबालिकालाई ‘यो मन त मेरो नेपाली हो’लाई सरोकारवाला निकायको अनुमति तथा स्वीकृति लिई देखाउनु उपयुक्त हुने देखिन्छ ।”
यो फिल्म विशुद्ध नेपाली भाषा तथा संस्कृतिमा आधारित रहेकाले यस्ता प्रकृतिका फिल्मलाई राज्यका निकाय तथा सरोकारवाला समाजिक संघसंस्थाहरूले संरक्षण तथा संवर्द्धन गर्नुपर्ने केन्द्रले पठाएको पत्रमा उल्लेख छ ।
देश र जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्दै एउटा सार्थक देशभक्तिपूर्ण चलचित्र बनाएकोमा केन्द्रले निर्माण टिमलाई धन्यवाद ज्ञापन गरेको छ ।