कता गायब भए नेपाली सलमान खान ?

काठमाडौं । एक समय नेपाली रजतपटमा दिनेश शर्माको नाम निकै माथि थियो । नायकका रूपमा उनी फिल्म क्षेत्रमा प्रवेश गरेर खलनायकमा आफूलाई स्थापित गरेका उनको चर्चाको कारण यही मात्रै थिएन । खास कारण थियो, उनको लुक्सको ।
उनको लुक्स बलिउड अभिनेता सलमान खानसँग मिल्छ भनिन्थ्यो । त्यसैले उनलाई धेरैले नेपाली सलमान भन्थे । व्यक्तिमात्रै होइन सञ्चारमाध्यमले पनि उनलाई नेपाली सलमानको ट्याग दिएका थिए ।
‘चट्याङ’, ‘टुहुरो’, ‘दाग’, ‘धडकन’, ‘क्रोध’, ‘महान’, ‘राम लक्ष्मण’, ‘सन्तानको माया’, ‘अभिमन्यू’ जस्ता दर्जनौँ फिल्मबाट उनले दर्शकको सकारात्मक प्रतिक्रिया पाएका थिए ।
दर्शकको त्यही मायाले उनले दुई दशकभन्दा लामो समय फिल्ममा लगातार काम गरे । दिनेशले चलचित्रमा अभिनयसँगै निर्देशन र निर्माण पनि गरेका थिए ।
दिनेश चलचित्र क्षेत्रमा योजनाबीना प्रवेश गरेका थिए । पहिलो फिल्म खेल्दासम्म पनि उनलाई यसप्रति धेरै रुचि थिएन । तर, जब पहिलो फिल्म प्रदर्शनमा आयो, दर्शकको मायाले उनलाई यो क्षेत्रले मोहनी लगायो । त्यसपछि उनले चलचित्र क्षेत्रलाई करिअर बनाए ।
उनी नायक र खलनायक दुवै भूमिकामा रुचाइए । खासगरी दिनेशको चर्चा खलनायकमा बढी हुन्छ ।
राजेश हमाल, निखिल उप्रेती, रमित ढुंगाना, विराज भट्टलगायत अभिनेताहरुसँग दिनेश शर्माले धेरै चलचित्रमा अभिनय गरेका छन् । उनीहरूसँग दिनेशको केमेस्ट्री पनि निकै रुचाएको पाइन्थ्यो ।
तर, अहिले दर्शकले दिनेशको फिल्म हेर्न नपाएको धेरै वर्ष भइसकेको छ । उनी एकाएक कता गायब भए ? उनी अहिले अमेरिकामा बस्दै आएका छन् । उनी श्रीमती, एक छोरी र एक छोराका साथ अमेरिका बस्दै आएका छन् ।
दिनेशले सामाजिक सञ्जालमा अमेरिकाको दिनचर्या र घुमघामका केही पारिवारिक तस्बिरहरु बेलाबेलामा पोस्ट समेत गर्ने गरेका छन् ।
भिडियो रिपोर्ट– https://www.facebook.com/share/v/19pkgYd818