किन चलचित्र विकास बोर्डको अध्यक्षको कार्यकाल दुई वर्ष हुनुपर्ने वकालत गर्दैछन् चलचित्रकर्मी ?

काठमाडौं । नेपाली चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्षको कार्यकाल दुई वर्ष छ ।
तर, यो दुई वर्षको कार्यकाल छोटो भयो भनेर धेरै चलचित्रकर्मीहरूले भन्दै आएका छन् । विशेषगरी पूर्वअध्यक्षहरूले बोर्डमा गएर काम गर्ने हो भने अध्यक्षको कार्यकाल चार वर्ष हुनै पर्ने बताउँदै आएका छन् ।
दुई वर्षको कार्यकाल बोर्ड बुझ्दैमा बित्ने भन्दै देखिनेगरी काम गर्न कम्तीमा चार वर्ष कार्यकाल हुनैपर्ने पूर्वअध्यक्षहरूको तर्क छ ।
सरकारले ससंदमा टेबुल गरेको विधेयकमा बोर्डको अध्यक्षको कार्यकाल चार वर्षको हुनेछ भन्ने उल्लेख । तर, केही चलचिकर्मीहरूले यसको विरोध गरेका छन् ।
विधेयक संशोधनका लागि पहलकदमी गरिरहेका चलचित्रकर्मीहरूले बोर्डका अध्यक्षको कार्यकाल चार होइन दुई वर्ष गर्नुपर्ने बताउँदै आएका छन् ।
उनीहरूले तयार गरेर सांसदहरूलाई बुझाइरहेको संशोधन प्रस्तावमा अध्यक्षको कार्यकाल दुई वर्ष बनाउनुपर्छ भन्ने उल्लेख छ ।
यसको कारणमा बोर्डलाई व्यवसायिक बनाउन भन्ने उल्लेख छ । चार वर्ष कार्यकाल हुँदा कसरी गैरव्यवसायिक र दुई वर्षे कार्यकाल हुँदा चाहिँ कसरी व्यवसायिक हुन्छ त्यो भने प्रष्ट छैन ।
सदस्यको कार्यकाल पनि दुई वर्षको हुनुपर्ने उनीहरूको संशोधन प्रस्तावमा उल्लेख छ ।