गायिका एलिना चौहान भन्छिन्- मर्नुभन्दा बहुलाउनु उपयुक्त ठानेर डिभोर्स गरें

काठमाडौं । चर्चित गायिका एलिना चौहानले मर्नुभन्दा बहुलाउनु नै उपयुक्त ठानेर पतिसँग सम्बन्धविच्छेद (डिभोर्स) गरेको खुलासा गरेकी छन् । एक टेलिभिजनमा अन्तरर्वाता दिँदै उनले डिभोर्स गर्नुपरेकाे कारण खुलाएकी हुन् ।

“किन सम्बन्धविच्छेद गर्नुपर्‍यो?” भन्ने प्रश्नमा एलिनाले भनिन्, “मलाई त बाँच्नै गाह्रो भयो । धेरै नै कन्जेस्टेड महसुस भयो । म त्यस्तो ठाउँमा बाँच्न सक्दिनथेँ । त्यसैले मर्नुभन्दा बहुलाउनु राम्रो भनेर डिभोर्स गर्ने निर्णय गरेँ ।”

साथै उनले भनिन् “धोका दिएर हैन, सम्बन्ध टिक्ने सम्भावना थिएन । पछि गएर ठूलो दुर्घटना पनि हुन सक्थ्यो । त्यसैले समयमै अलग हुने निर्णय गर्‍यौं,” उनले डिभोर्सको कारण धोका नरहेको भन्दै भनिन्, “धोका दिएको भनेको होइन । बदला लिनैपर्छ भन्ने पनि हुँदैन । कसैले तपाईँलाई नराम्रो गर्छ भने तपाईंले पनि उसलाई नराम्रो गर्नुपर्छ भन्ने छैन ।”

एलिनाले पूर्वपति विष्णु सापकोटासँगको सम्बन्धमा विश्वासको कमी र बारम्बारका भइरहने झगडाका कारण डिभोर्स भएकाे खुलाइन् । “हामीबीच विश्वास थिएन, धेरै झगडा हुन्थ्यो, शंका र आरोप–प्रत्यारोपले सम्बन्धलाई कमजोर बनायो,” उनले थपिन् ।

गायिका एलिना चाैहानले गत माघमा पति विष्णु सापकोटासँग औपचारिक रुपमा सम्बन्ध विच्छेद गरेकी थिइन् । उनले सम्बन्धविच्छेद पछि फेसबुकमा लेखेकी थिइन् ‘भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ । जुन रहेन, अनि हाम्रो सम्बन्धमा अल्पायुमै पूर्णविराम लागेको छ ।’ उनले आफू रहरले नभई बाध्‍यताले छुट्नु परेकाे बताएकी थिइन् ।