असार २२: नेपाली चलचित्रले गुमाएको चम्किलो तारा

काठमाडौं । असार २२ नेपाली चलचित्र क्षेत्रका लागि एक दर्दनाक सम्झना बोकेको दिन हो । ठीक दुई वर्षअघि आजकै दिन कलाकारितामा उदाउँदो एक युवा नायकको निधनले सम्पूर्ण चलचित्र क्षेत्रलाई स्तब्ध बनाएको थियो ।

२०८० साल २२ गते शुक्रबारका दिन अभिनेता सारुक ताम्राकारको असामयिक निधनले सम्पूर्ण चलचित्र क्षेत्रलाई स्तब्ध बनाएको थियो ।

सारुक नेपाली सिनेमामा सक्रियरुपमा लागिरहेका एक आशालाग्दा कलाकार थिए । चलचित्र ‘ह्यासट्याग माया’को छायांकनमा व्यस्त रहेका अभिनेता ताम्राकार असार २१ गते बिहीबार राति आफ्नो निवास काठमाडौंको रातोपुलस्थित घर फर्किएका थिए । त्यस रातको ११ बजे उनी आफ्नै घरको भर्याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।

अभिनेता सारुक झुन्डिएको अवस्थामा फेला परेपछि घटनालाई शंकास्पद मृत्युअन्तर्गत अनुसन्धान थालिएको थियो । उनको मृत्युलाई शंकास्पद रुपमा लिइए पनि आधिकारिक पुष्टि भने सार्वजनिक भएन । यो घटना एक रहस्यमय अध्यायका रूपमा आज पनि अधुरो छ ।

केवल ३१ वर्षको उमेरमा निधन भएका सारुकले थुप्रै नेपाली चलचित्रमा अभिनय गर्दै आफ्नो पहिचान बनाउँदै थिए । चलचित्र ‘रानी’ मार्फत नायकको रुपमा करिअर सुरु गरेका उनले ‘इन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’ जस्ता चलचित्रमा अभिनय गरेका थिए । यीमध्ये ‘इन्टु मिन्टु लण्डनमा’ मा उनको भूमिकाले विशेष चर्चा पाएको थियो र दर्शकमाझ मन पराइएको थियो ।

सारुकले चलचित्र ‘ह्यासट्याग माया’मा अभिनेत्री नम्रता श्रेष्ठसँग अभिनय गरिरहेका थिए । जसको ४५ प्रतिशत छायांकन सकिएको थियो ।

सारुक ताम्राकार नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार सानु ताम्राकारका सुपुत्र थिए । छोराको असमायिक निधनबाट गहिरो मानसिक आघात भोगिरहेका सानुको पनि केही महिनापछि २०८० भदौ ९ गते ७४ वर्षको उमेरमा नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भयो ।

सानु ताम्राकार आफैँ पनि शास्त्रीय नृत्यमा पारंगत कलाकार थिए र थुप्रै चलचित्रमा अभिनय गरिसकेका थिए ।

आज, दुई वर्षपछि पनि चलचित्र क्षेत्र र उनका प्रशंसकहरूले सारुकको सम्झना गरिरहेका छन् ।