‘मेरी बास्सै’ की ‘अप्सरा आमा’ लक्ष्मी श्रेष्ठको निधन

काठमाडौं । चर्चित हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मार्फत दर्शकमाझ ‘अप्सरा आमा’का रूपमा परिचित वरिष्ठ कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ । उनको शुक्रबार बेलुकी करिब ८ बजेतिर निधन भएको हो ।

श्रेष्ठ केही समयदेखि स्तन क्यान्सरबाट पीडित थिइन् । करिब चार महिनाअघि उनलाई भक्तपुर क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि अस्पतालले करिब एक महिनाअघि उपचार सम्भव नरहेको भन्दै घर फर्काइदिएको थियो ।

त्यसयता उनी काठमाडौंको कपन बालुवाखानीस्थित आफ्नै निवासमा आराम गरिरहेकी थिइन् । शुक्रबार राति त्यहीँ निवासमा उनले अन्तिम सास लिएको पारिवारिक स्रोतले जनाएको छ ।

लामो समयदेखि नेपाली टेलिभिजनमा सक्रिय रहेकी लक्ष्मी श्रेष्ठले विशेषगरी हास्य र पारिवारिक भूमिकामा दर्शकमाझ लोकप्रियता कमाएकी थिइन् ।

‘मेरी बास्सै’ मा उनले निभाएको ‘अप्सरा आमा’ पात्रले विशेष चर्चा पाएको थियो । जसमा खड्काजी र अप्सराको जोडीलाई दर्शकले निकै रूचाएका थिए ।

शिवहरि पौड्यालको निर्देशनमा बनेको चलचित्र ‘लक्का जवान’ मा समेत देखिएकी कलाकार श्रेष्ठले ‘जिरे खुर्सानी’, ‘कान्छी’, ‘उल्टो सुल्टो’ सहित अन्य केही सिरियल र म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन् ।

उनको निधनप्रति कलाकार, दर्शक र शुभचिन्तकहरूले सामाजिक सञ्जालमा श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।