यस्तो छ ‘रिमै’को आर्थिक विवाद, प्रदर्शनमा हुँदैछ सकस

काठमाडौं । चलचित्र ‘रिमै’को आर्थिक विवादले पोस्टप्रोडक्सनमा रहेको सिनेमाको काममा असर परेको छ । निर्माताहरूबीच आर्थिक लेनदेन नमिलेको कारण चलचित्रको काम प्रभावित भएको छ ।

आर्थिक असमझदारीमात्रै होइन कानुनी झमेला सुरु भएको छ । भदौ २० गतेबाट प्रदर्शनमा आउने भनिएको यो चलचित्रको रिलिज नै अन्यौलमा पर्ने अवस्था आएको छ ।

वितरक कम्पनी आरआर फिल्मस र निर्माता समूहबीचको आर्थिक लेनदेनले सिनेमा नै के हुने भन्ने अहिले अन्योलको अवस्था छ । यो चलचित्रको निर्माणपक्षले शुक्रबार टिजर सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, टिजर सार्वजनिक हुने दिनमै निर्माणपक्षले सूचना जारी गर्दै ‘प्राविधिक कारण’ले चलचित्रको टिजर रिलिज गर्न नसकिएको जानकारी दिएको थियो । यो सूचनापछि निर्माण टिमले ‘नयाँ मिति चाँडै घोषणा गर्नेछौँ’ भनेको छ ।

चलचित्र निर्माणको घोषणा हुँदा प्रस्तुतकर्ता रोहित कट्टेल र कार्यकारी निर्माता रत्न श्रेष्ठको नाम थियो । तर, हाल चलचित्रको पोस्टरबाट यी दुवैको नाम हटाइएको छ । यसले निर्माणपक्षभित्र आन्तरिक असमझदारी उत्कर्षमा रहेको प्रष्ट पार्छ ।

स्रोतका अनुसार आरआर फिल्मसले यो चलचित्र निर्माणका लागि १ करोड २५ लाख रुपैयाँ रिलिज गरेको थियो । तर, बीचमा टिमसँग असमझदारी भएपछि आरआर फिल्मसले आफ्नो पैसा फिर्ता माग्यो ।

“टिममा असझमदारी भएपछि आरआर फिल्मसका सञ्चाल कतथा वितरक रोहित कट्टेलले आफ्नो १ करोड २५ लाख रुपैयाँ फिर्ता माग्नुभयो,” स्रोतले भन्यो, “तर, निर्माण पक्षले माग्नबित्तिकै पैसा फिर्ता गर्न नसकेपछि पछिको मितिमा चेक काटेर दियो । तर, तोकिएको समयमा चेक क्यास नभएपछि अहिले निर्माता संघदेखि सबै संघसंस्थामा आरआर फिल्मसले उजुरी दिएको छ ।”

स्रोतका अनुसार चलचित्र निर्माता संघ, निर्देशक समाज, चलचित्र संघलगायत चलचित्रसँग सम्बन्धित सबै संस्थामा आरआर फिल्मसले उजुरी दिएको छ । चलचित्र पत्रकार संघका पनि सिनेमाको कारोबार नमिलेसम्म प्रचारप्रसार नगरिदिनु भन्दै पत्र बुझाएको पाइएको छ ।

चलचित्र ‘रिमै’ २ करोड ७५ लाख लागत रहेको बताइएको छ ।

यो चलचित्रको गत वैशाख २९ गते फस्टलुक पोस्टर सार्वजनिक गर्दै भदौ २७ लाई प्रदर्शन मिति तोकिएको थियो । पछि फेरि एक साताअघि मिति सारेर भदौ २० गतेलाई तय गरिएको थियो ।

यो स्थगन प्राविधिकभन्दा पनि वितरकसँगको आर्थिक लेनदेन मुख्य कारण हो ।

यो सिनेमा गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रा.लि. को प्रस्तुति तथा रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण गरिएको हो ।

उपेन्द्र सुब्बाको लेखन रहेको यस चलचित्रमा दयाहाङ राई, रिस्मा गुरुङ, बुद्धि तामाङ, गौमाया गुरुङ, अर्पण थापा, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरबल घले, डिवी गुरुङ, टेक गुरुङ, साथै बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको अभिनय रहेको छ ।

शैलेन्द्र ध्वज कार्की छायाकार रहेको चलचित्रको छायांकन गोरखा जिल्लाको सिरानचोक, झार गाउँ, कुल गाउँ, भंगेरी, लासे, सिम्ले, गोहरे, चित्रेपोखरी र गोर्खा बजार क्षेत्रमा गरिएको हो ।

वीरबल घले कार्यकारी निर्माता रहेको यस चलचित्रमा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले छन् भने बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्माता रहेका छन् ।

दीपक शर्मा र थानेश्वर गौतमको संगीत यस चलचित्रमा मित्र डि गुरुङको सम्पादन, यस्तै सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक र बिष्णु मैनाली प्रोडक्सन म्यानेजर रहेका छन् ।